नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आन्दोलनमा उत्रने भएको छ।
नेविसंघले विद्यार्थीहरूको पक्षमा विगतमा उठाइएका विभिन्न माग ७२ घण्टाभित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइते नेविसंघकी केन्द्रीय सदस्य मिरा कटुवालको उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरेका थिए।
नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पुर्याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्न, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्न, देशभरका सबै शैक्षिक संस्थाहरूमा इ-लाईब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरूलाई नि:शुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो।
यिनै मागहरू अबको ७२ घण्टाभित्र पनि पूरा नभए सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने जानकारी प्रधानमन्त्री देउवालाई गराइएको नेविसंघका अध्यक्ष नैनसिंह महराले जानकारी दिए। नेविसंघले जाडोका कारण देशका विभिन्न जिल्लामा हुन सक्ने महामारीलाई समयमै रोकथाम गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
नेविसंघले आफ्ना मागहरू पूरा गराउन सोमबारबाटै दबाब स्वरुप हस्ताक्षर अभियान सुरू गरेको छ। उनीहरूले माग सम्बोधन नगरे सरकारविरुद्ध आमरण अनसन समेत बस्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।