नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन नहुने सुझाव दिएका छन्।
अध्यक्ष विजुक्छेले भक्तपुर अतिसुविधा सम्पन्न जिल्ला भएकाले राजधानी बनाएर झनै सुविधा सम्पन्न बन्ने स्वार्थ पाल्न नहुने धारणा राखेका हुन्। भक्तपुरको सानोठिमीलाई प्रदेशको अस्थायी राजधानी बनाउन सरकारी कार्यदलले तयारी गरिरहेका बेला उनले सानो जिल्ला भएकाले पनि यसलाई प्रदेशको पनि राजधानी बनाएर जनसंख्याको चाप बढाउन नहुने तर्क गरे।
आइतबार नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाको २१ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विजुक्छेले क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जिल्ला भक्तपुरलाई प्रदेशको राजधानी बनाउँदा जनसंख्याको चाप बढ्ने र त्यसले अपराधलगायतका गतिविधि पनि बढ्ने बताए।
अध्यक्ष विजुक्छेले बाम गठबन्धनलाई फुटाउन बाह्य शक्ति नै लागि परेको दाबी समेत गरे।