बिनाविभागीय मन्त्री कृष्णबहादुर महराले अबको तीन साताभित्रै वाम गठबन्धनको नयाँ सरकार बन्ने बताएका छन्।
दाङको टरिगाँउ एयरपोर्टमा आइतबार दिउँसो आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादीका नेता महराले अबको तीन साताभित्रै वाम गठबन्धनको नयाँ सरकार बन्ने बताएका हुन्। ‘अबको तीन साताभित्रै वाम गठबन्धनको नयाँ सरकार निर्माण भइसक्ने छ र त्यसको सँगसँगै पार्टी एकता पनि भइसक्नेछ’ महराले भने।
दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महराले वाम गठबन्धनको नयाँ सरकार बन्न नपाओस् र वाम गठबन्धनको एकता पनि हुन नपाओस् भनेर चलखेल सुरू भएको बताए। वाम गठबन्धनको एकता र सरकार नचाहने देशी विदेशी शक्तिहरू सक्रिय हुन खोजेको भन्दै त्यो कुनै हालतमा सफल हुन नदिने उनले बताए।
विमान सेवा फेरि सुरू हुनुलाई दाङको सम्वृद्धिको यात्राको सुरूवातको रूपमा अर्थ्याएका महराले प्रदेश नं. ५ को प्रदेश राजधानी दाङ बाहेक अन्त कहीँ नजाने दाबी गरे। ‘प्रदेश राजधानीका सवालमा लडाई नै छ,तर जहाँ राजधानी जाँदैन त्यहाँका नेता र जनता आन्दोलन मार्फत रोएका मात्रै हुन्,’ पूर्व उपप्रधामन्त्री महराले थपे ‘ तपाईहरू ढुक्क हुनुहोस् दाङबाहेक प्रदेश राजधानी अन्त कतै जाँदैन।’
तर, उनले त्यसका लागि आम दाङबासी एकताबद्ध भएर लाग्नुपर्ने बताए। दाङको भालुवाङदेखि हापुरे जहाँ राजधानी राखेपनि स्वीकार गर्ने बताएका उनले त्यसका लागि आफूहरूले निर्वाचनमा गरेको वाचा अनुरुप प्रतिबद्ध रहेको बताए। ‘सबै तयारी भइसकेको छ, तर सरकारले केही आँट गरेर भन्न सकेन,’– नेता महराले भने ‘ सरकारले भन्न नसकेको भएपनि उहाँहरूको मनमा पनि प्रदेश राजधानी दाङ नै छ ।’
उनले विमानको नियमितताको लागि एयरपोर्टको विस्तार र तेलको आपूर्ति गर्न आवश्यक रहेको बताए। ‘हामीसँग गरेको वाचा अनुसार नेपाल एयरलाईन्सको विमान दुई महिनापछि काठमाडौंदेखि तुलसीपुरका लागि नियमित गर्ने भन्ने छ,’– महराले भने ‘त्यसका लागि कुनैपनि व्यवधान आएमा त्यो समाधान गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं।’
हाल पहिलो प्रयास समिट एयरले हप्ताको दुईदिन उडान भर्ने उनले बताए। कार्यक्रमलाई सम्वोधन गर्दै दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित हिराचन्द्र केसीले दाङको विकासका लागि प्रतिपक्षी नेपाली कांग्रेसलाई समेतसँगै लगेर अगाडि बढ्ने बताए। प्रदेश नं. ६ को सल्यानबाट निर्वाचित एमाले नेता प्रकाश ज्वालाले दाङ प्रदेश नं. ५ को र सुर्खेत प्रदेश नं. ६ को प्रदेश राजधानी हुने भएको हुँदा सल्यानी भाग्य मानी भएको बताए। तर, सम्पूर्ण तयारी पूरा भएपनि प्रदेश राजधानी घोषणाको तयारी प्रधानमन्त्रीले लुकाएको हुँदा अविलम्व घोषणा गर्न उनको माग गरेका थिए ।
‘फेरि दाङमा प्लेन आउँदा चुनाव जितेको जस्तै तपाईहरूले मालाले स्वागत गर्नु भएको छ र मलाई आज फेरि चुनाव जितेको जस्तै लागेको छ,’– नेता ज्वालाले भने ‘ राप्तीका पहाडी जिल्लामा मात्रै हैन, प्रदेश नं. ६ का जनतापनि कोहलपुर भन्दा कालीमाटी हुँदै सिधै दाङ आएर प्लेन चढ्नेछन् ।’ उनले दाङको सम्वृद्धिले मात्रै यसका पहाडी जिल्लाहरूको सम्वृद्धि सम्भव हुने बताए। तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले दाङको सम्वृद्धिको पहिलो सूचक विमान सेवा सुरू हुनु भएको बताए।