सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको डिनमा प्राध्यापक डाक्टर शशी शर्मालाई पुनर्वहाली गरेको छ।
चार वर्ष अघि शर्माले आफूलाई आइओएमको डिनमा पुनर्वहाली गर्न माग गर्दै दिएको रिटमा अन्तिम सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपक कार्कीको इजलासले '४ दिन वहाल हुन चाहेमा पुनर्वहाली हुन' आदेश दिएको हो।
'यी निवेदकको मिति २०७०/०९/२८ बाट ४ वर्ष अर्थात २०७४/०९/२७ सम्म पदावधि बाँकी रहेको देखिँदा सो बाँकी दिन ४ को हकमा निवेदकले वहाल हुन चाहेमा आजैका मितिबाट बहाल हुन जानु भनी परमादेशको आदेश जारी गरिदिएको छ,' आदेशमा उल्लेख छ।
चिकित्शा क्षेत्रका विकृतिविरुद्ध अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले कुनै मापदण्ड नबनाई डिन बनाएको भन्दै शर्मालाई हटाउन र वरिष्ठताका आधारमा नियुक्ति गर्न माग गरेका थिए। उनको माग अनुसार सरकारले शर्मालाई डिनबाट हटाएर प्राध्यापक डाक्टर राकेश श्रीवास्तवलाई नियुक्त गरेको थियो।
अहिलेका डिन राकेश श्रीवास्तवको नियुक्ति के हुने भन्नेबारे अदालतले बोल्न नमिल्ने आदेशमा उल्लेख छ।
'जहाँसम्म हाल नियुक्त भएका प्रा.डा जगदिशप्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैरकानूनी हो भन्ने पुष्टी गर्ने आधार नभएको र एउछा संस्थाको सञ्चालनमा डिनको नियुक्तिको अभावमा विपक्षी संस्थालाई परेन सक्ने असरलाई पनि न्यायको रोहमा विचार गर्नुपर्ने भएकाले निजको नियुक्तिलाई यस मुद्दाबाट बोल्न मिलेन,' सर्वोच्चले भनेको छ।
सरकारका नाममा सर्वोच्चले निर्देशनात्मक आदेश पनि जारी गरेको छ।
यसअघी तत्कालिन न्यायाधीश सुशीला कार्कीको इजलासले शर्माको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेको थियो।