सरकारले सोमबार प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले सोमबार बस्ने मन्त्रीपरिषद बैठकले सबै प्रदेश प्रमुख तोक्ने जानकारी दिएका हुन्। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रशासनिक र कानूनी क्षेत्रमा उल्लेख्य योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकाहरूलाई प्रदेश प्रमुख बनाउन सरकार लागि परेको स्पष्ट पारे।
मन्त्री थापाले प्रदेशको राजधानी भने सरकारले तोक्ने नमिल्ने बताएका छन्। उनले संविधानले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकार अस्थायी राजधानी तोकेर अघि बढ्ने पक्षमा नरहेको प्रष्टयाउँछन्। मन्त्री थापाले राजनीतिक सहमतिको आधारमा प्रदेशसभाको अस्थायी मुकाम तोक्न भने सरकार तयार रहेको स्पष्ट पारे।
मन्त्री थापाले संविधान विपरित गएर सरकारले प्रदेशको राजधानी तोक्ने काम गर्नै नमिल्ने तर्क समेत गरे। उनले नयाँ सरकार गठन प्रक्रिया फागुन दोस्रो साताबाट सुरू हुने पनि बताए।