पूर्वराजा ज्ञानेन्द्र शाहले दाङ आउन पाएकोमा आफूलाई खुसी लागेको बताएका छन्।
शुक्रबार घोराहीका मन्दिरमा पूजा आरधना गरेपछि पूर्वराजाले दाङ आउन पाउँदा आफूलाई खुसी लागेको बताएका हुन् । ‘तपाईहरूसँग पटक/ पटक यस्तैगरि भेटघाट हुन पाओस्,’– शाहले भने ‘लामो समय भएको थियो, घुम्न पाएको थिएन, दाङ आउन पाउँदा खुसी लागेको छ ।’ विद्यमान राजनीतिक परिस्थितिका बारेमा एक शब्द पनि बोल्न नमानेका पूर्व राजा शाहले आफ्नो पूजाको व्यवस्थापन गर्ने र आफूलाई ठाउँ ठाउँमा स्वागत तथा सम्मान गर्ने सबै दाङबासीलाई धन्यवाद सुनाइदिन पत्रकारहरूलाई आग्रह गरेका थिए ।
पत्रकारहरूले भने मुलुकको विद्यमान अवस्था र समसामयिक राजनीतिका बारेमा उनको प्रतिक्रिया मागेका थिए । तर, पूर्वराजाले त्यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन्।
अम्बिकेश्वरी र गोरक्ष रत्ननाथ मन्दिरमा पुजापूर्वराज शाहले घोराहीका दुई वटा मन्दिरमा पूजा गरेका छन्। घोराहीको चौघेरामा रहेको गोरक्ष रत्ननाथ मन्दिर र अम्बापुरको अम्बिकेश्वरी मन्दिरमा पुगेर शाहले पूजा आरधना गरेका हुन्।
पूर्वराजा घोराहीमा आउँदा उनका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नाराहरू लगाएका थिए। राजनीतिक दल र नेताहरूले गर्दा धर्म र देश अवस्था धर्मराउने अवस्थामा पुगेको भन्दै सक्रिय हुन आग्रह गरिरहेका सुनिथ्यो।
दाङको तुलसीपुर निवासी राप्रपा नेपालका केन्द्रीय सदस्य टोपबहादुर शाहले आफूले ‘राजा’लाई विद्यमान परिस्थितिबाट देशलाई जोगाउन ‘सक्रिय’ हुन आग्रह गरेको सेतोपाटीलाई बताए। त्यसैगरी, उक्त पार्टीका जिल्ला अध्यक्ष हंशराज केसीले आफूले राजालाई आफ्नो लागि नभएपनि जनताको लागि सक्रिय भूमिकामा आउन आग्रह गरेको बताए।
‘मुलुक अहिले रानी बिनाको माहुरी जस्तै भएको छ, अब हजुर सक्रिय नभए देश बर्बाद हुन्छ भन्दा उहाँले टाउको मात्तै हल्लाउनु भयो,’–अध्यक्ष केसीले भने। कतिपयले संघीयता देशले थेग्न नसक्ने, क्रिष्टियनहरूको बिगबिगी बढेको हुँदा कुनैपनि कदम चाल्न उक्साएको सुनिन्थ्यो । केही दिनदेखि पश्चिम नेपालको भ्रमणमा रहेका शाह आउने थाहा पाएर दाङको लमही र घोराही क्षेत्रमा ठूलो संख्यामा उनका शुभचिन्तक र समर्थक भेला भएका थिए। उनको ठाउँ/ठाउँमा जय जयकार र स्वागत भएको थियो । शुक्रबार ११ बजेतिर दाङ आएका पूर्व राजाले झण्डै चार घन्टा जति दाङमा बिताएर फेरि बाँके नै फर्किएका हुन्।