वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै शुक्रबारदेखि रिले अनशन सुरू भएको छ।
प्रदेश नं. २ को राजधानी वीरगञ्जलाई बनाउन माग गर्दै सत्ताधारी नेपाली कांग्रेस ,प्रतिपक्षी दल एमालेका स्थानीय नेता तथा नागरिक समाजका अगुवाहरूले बिहिबारदेखि आन्दोलन सुरू गरेका हुन्।
वीरगञ्जको घण्टाघरमा संघर्ष समितिको आयोजनामा सुरू भएको रिले अनशनको पहिलो दिन पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी,एमालेका नेता बसरुद्धिन अन्सारी, शम्भु गुप्ता,मधेशवादी नेता ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, रञ्जु दाहाल लगायत नेताहरू अनशनमा बसेका छन्।
वर्तमान नेपाली कांग्रेसको सरकारले नेता बिमलेन्द्र निधिको सिफारिसमा प्रदेशको अस्थायी राजधानी जनकपुरलाई तोक्न थालेको चर्चा सुरू भएपछि राजधानीको माग गर्दै वीरगञ्जमा विभिन्न विरोधका चरणबद्ध कार्यक्रमहरू सुरू भएका छन्।
महानगरपालिकाको बोर्ड बैठकले समेत जुनसुकै हालतमा वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन पहल गर्ने निर्णय गरिसकेको मेयर सरावगीले जानकारी दिए ।
वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी नबनाएसम्म आन्दोलन जारी रहने एमालेका नेता शम्भु गुप्ताले जानकारी दिए । ‘वीरगञ्ज राजधानीका लागि सबै कुराले सक्षम छ भन्नेमा हामी विश्वस्त छौं, मधेस आन्दोलनको केन्द्र पनि वीरगञ्ज नै थियो’ उनले भने ‘वीरगञ्जलाई राजधानी घोषणा नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’