प्रधान्यायाधीश गोपाल पराजुलीले आफ्ना नातेदार र विश्वास पात्र नहकुल सुवेदीलाई च्यापेपछि सात उच्च अदालतमध्ये एउटाको पनि नेतृत्वमा महिला न्यायाधीश नहुने भएका छन्।
बिहीबार न्यायपरिषद्ले चार उच्च अदालतमा मुख्यन्यायाधीश सिफारिस गरेको छ। बैठकले तुलसीपुर उच्च अदालतमा नहकुल सुवेदी, जनकपुरमा उदय चापागार्इँ , दीपायलमा यज्ञ बस्याल र सुर्खेतमा हरिकुमार पोखरेललाई मुख्यन्यायाधीशमा सिफारिस गरेको हो। सिफारिश भएकामध्ये चापागाईँ, बस्याल र पोखरेल उच्चअदालतका लागि क्रमशः पहिलो दोस्रो र तेस्रो रोलक्रमका न्यायाधीश थिए।
पाटन उच्च अदालतको हेटौंडा इजलासकी सुष्मालता माथेमा वरिष्ठ न्यायाधीशमध्ये चौंथो नम्बरमा पर्थिन्।
तर प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार सुवेदीलाई तुलसीपुर उच्च अदालतको मुख्यन्यायाधीशमा जोड गरेपछि माथेमा मुख्यन्यायाधीश बन्नबाट बन्चित भएकी हुन्।
प्रधानन्यायाधीश पराजुलीले सुवेदीलाई ल्याउन बल नगरेको भए वरिष्ठताकै आधारमा सुष्मालता माथेमा मुख्यन्यायाधीश हुने थिइन्।
प्रधानन्यायाधीश भएको महिना दिन नपुग्दै पराजुलीले नातामा ज्वाइँ पर्ने सुवेदीलाई न्यायपरिषद्को सचिवबाट सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नियुक्त गरेका थिए। सर्वोच्चको मुख्यरजिष्ट्रार निजामती सेवाको मुख्यसचिव सरह हुन्छ। मर्यादा क्रममा उच्च अदालतका न्यायाधीशभन्दा माथि हुन्छ।
मुख्य रजिष्ट्रार भएको ६ महिनामै सुवेदीलाई पराजुलीकै जोडबलमा उच्च अदालतको मुख्यन्यायाधीश सिफारिश गरिएको हो।
उनलाई मुख्यन्यायाधीश बनाए पनि रोलक्रममा पहिलो बनाउन नहुने भन्दै परिषदका सदस्य एवम् वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले ‘नोटअफ डिसेन्ट’ लेखेका छन्।
जोशीले रोल क्रम मिचेर सिफारिस भएकोमा आफ्नो आपत्ति रहेको बताए।
‘मैले सुवेदीजीलाई एक नम्बरमा नराखौँ भनेको हुँ, रोल क्रम मिचेकोमा मेरो नोटअफ डिसेन्ट छ,’ उनले सेतोपाटीसँग भने, ‘चार जना न्यायाधीश नियुक्ति गर्दा रोलक्रममै भएकी महिला न्यायाधीश छुटाउनु हुँदैन भन्नेमा पनि मेरो जोड थियो तर मेरो कुरा सुनिएन।’
न्यायपरिषद्ले उच्च अदालतको नेतृत्वमा एकजना महिला हुनुपर्छ भन्ने चाहेको भए बरिष्ठताको क्रम छोड्न सक्थ्यो।
यसअघि प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पालामा पुनरावेदन अदालतका अब्बल न्यायाधीश सर्वोच्च ल्याउन भन्दै वरिष्ठताको क्रम मिचिएको थियो।