नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले नयाँ सरकार गठनका लागि सत्ता हस्तान्तरणमा कांग्रेसले नभई कानूनी अड्चनले ढिलाइ गरेको प्रष्ट पारेका छन्।
भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दैै नेता खड्काले राष्ट्रिय सभाको निर्वाचन नगरी सत्ता हस्तान्तरणमा कानूनी समस्या रहेको उनले बताए।
कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुने हुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने दाबी गरे।
राष्ट्रिय सभाको निर्वाचनपछि नयाँ सरकारका लागि सत्ता हस्तान्तरण गरी कांग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको नेता खड्काले बताएका छन्।
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएको कारण कांग्रेसले पराजय व्यहोर्नु परेको केन्द्रीय सदस्य खड्काले बताए।
कांग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग पनि लिखित रूपमा सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै प्रचण्डसँग लिखित सहमति भएको भन्ने कुरा हल्ला मात्रै भएको उनले बताए।