वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने कामको जिम्मेवारी सरकारलाई नै दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा वाम गठबन्धनमा आबद्ध दलहरूले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने कामको जिम्मेवारी सरकारलाई नै दिएका हुन् ।
राष्ट्रिय सभाको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई सचेत गराइएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। उनले अध्यादेश जारी भइसक्दा समेत पनि राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा नगरेर सरकारले आफ्नो आयु लम्ब्याउन चाहिरहेको आरोप समेत लगाए।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जननिर्वाचित प्रतिनिधिहरुलाई छिटो सत्ता हस्तान्तरण हुनेगरी प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई सुझाव दिइएको बताए। उनले पनि राष्ट्रिय सभाको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरे।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मेवारी दलहरूले सरकारलाई नै दिएको जानकारी दिए। बैठकमा प्रधानमन्त्री देउवाले सरकार सहमतिमै प्रदेश प्रमुख नियुक्त गर्न तयार रहेको बताएका थिए।
यता, राष्ट्रिय जनता पार्टी, नेपालले पनि विवादमा नआउने गरी परिपक्व र अनुभवी व्यक्तिहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सरकारलाई सुझाव दिएको थियो। प्रदेशको अस्थायी राजधानी तोक्ने काममा पनि विवेक पुर्याएर निर्णय लिन सरकारलाई सुझाव दिइएको नेता राजकिशोर यादवले जानकारी दिए।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पनि प्रदेश प्रमुख र त्यसको राजधानी तोक्न ढिलाई नगर्न सरकारलाई आग्रह गरेपछि प्रधानमन्त्री देउवाले राजनीतिक सहमति जुटाउन राष्ट्रिय मान्यता प्राप्त ५ दलको बैठक बोलाएका हुन्।