निर्वाचन आयोगले मत परिणाम ढिलो भयो भन्ने दलीय अभिव्यक्तिले आफू आश्चर्यचकित भएको जनाएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै आयोगको मानमर्दन गरिएकोमा समेत असन्तुष्ट पोखेको छ।
'प्रतिनिधि सभाका सबै निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा आयोगप्रति कतिपय सरोकारवालाले जनताको मतलाई सार्वजनिक गर्न ढिलाइ गर्यो भनि लाञ्छना लगाएको तथा आयोगको मानर्मदन हुने गरी अराजक गतिविधि सञ्चालन गरेकोमा आयोग आश्चर्य चकित भएको छ', आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले निर्वाचन परिणाम सार्वजनिक गर्न आयोगमै पुगेर सोमबार ताकेता गरेका थिए। उनीहरूले आयोगले जनमतलाई रोकेर राख्न नमिल्ने जिकिर गर्दै आएका छन्। एमाले र माओवादी भातृ संगठनले आयोग विरुद्ध सडक आन्दोलन समेत गर्दै आएका छन्। आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम तयार गर्ने काम भइरहेको जनाएको छ।
'राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न नभई उक्त परिणाम सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानूनी अड्चन भएको हुँदा परिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न आयोग आतुर हुँदाहुँदै पनि सम्भव हुन सकेको छैन', आयोगको विज्ञप्तिमा भनिएको छ।
संविधानको धारा ८४ को (८) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) को प्रावधानले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्ये विजयी हुने उम्मेदवारहरूको नामहरू सिफारिस गर्नका लागि दलहरूलाई पत्राचार गर्न आयोग असमर्थन रहेको उल्लेख गरेको छ। आयोगले प्रदेश सभाको निर्वाचन परिणाम भने पुस २० गतेसम्म आइसक्ने उल्लेख गरेको छ। साथै प्रदेश प्रमुख छिटो नियुक्त गर्न समेत सरकारलाई आग्रह गरेको छ।
आयोगले प्रदेशको मतपरिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुपर्नेछ। 'निर्वाचनको परिणाम छिटो घोषणा होस् भनेर संविधान र कानूनले तोकेको विधि एवं प्रक्रियालाई नजरअन्दाज गरी उत्तेजना फैलाउन तथा संवैधानिक आयोगको मानमर्दन गरी आयोगलाई लाञ्छना लगाउने क्रियाकलाप नगर्न/नगराउन सम्बन्ध सरोकारवालासँग आयोग पुनः हार्दिक अपिल गर्दछ', आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।