नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन्।
बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताएाका हुन्।
साक्षात्कारमा बोल्दै नेपालले सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए।
भियतनामको कम्युनिष्ट पार्टीकोसमेत उदाहरण दिँदै नेपालले ‘पदका लागि मारामार गर्ने होइन। संगठनात्मक संरचना बनाएर नेता व्यवस्थापन गर्नुपर्छ। त्यसपछि महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्छ’ नेपालले भने।
नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै उनले पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने दाबी गरे । ‘हामी पद छोड्न र दिन तयार छौँ।’
जनताको जनादेश अनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने उनको तर्क थियो ।
‘सरकारको नेतृत्वको विषयमा पनि विवाद नहुने उनको दाबी थियो । प्रधानमन्त्रीका लागि मारामार तानातान होला भन्ने लागेको होला । त्यस्तो हुँदैन।’
एमाले र माओवादीबीच लडाइ होला र फाइदा उठाउँला भनेर कांग्रेस दाउ हेरेर बसेको बताउँदै नेपालले आफूहरु परिपक्व भएकाले त्यस्तो दाउ नहेर्न सुझाव दिए ।
चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादीले त्यही अनुसार सोचेको उनको भनाइ थियो। ‘अनावश्यक प्रचार र दबाब सृजना गरेर केही हुँदैन। प्रधानमन्त्रीका लागि कुनै समस्या छैन’ नेपालले भने। दाहाल, ओली, खनाल, बामदेव, नारायणकाजी, बादल सबैको उचित र न्यायसंगत व्यवस्थापन हुन्छ।’
प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओली नै हुन सक्ने सम्भावना बढी रहेको नेपालको भनाइ थियो । तर माओवादीसँग पनि छलफल हुने उनले बताए ।
चुनाव हारिसकेपछि पनि नेपालले सरकार छोड्न नचाहेको भन्दै उनले आपत्ति जनाएका छन्। ‘कांग्रेस जहिले पनि कुर्सी छोड्न आलटाल गर्छ। नानीदेखि लागेको बानी अझै हटेको छैन। यो अत्यन्तै गलत सोच हो’ नेपालले भने । ‘शेखर, रामचन्द्र र देउवा आत्तिनु पर्दैन। रोग लाग्ला। कम्तिमा अब पाँच वर्ष धैर्य गरेर बस्नुस्। रचनात्मक प्रतिपक्षमा बस्नुस्।’
वाम गठबन्धन फुटाएर आफू सरकारमा जाने कुरा दिवा सपना भएको उनको भनाइ थियो।
नेता नेपालले वाम गठबन्धनको सरकारले भारत र चीन दुवै छिमेकी मुलुकसँग निकटताको सम्बन्ध स्थापित गर्ने बताएका छन्। ‘आन्तरिक मामलामा हात नहाल्नु भन्ने मात्रै हाम्रो चाहना हो। हाम्रो निर्णय गर्ने अधिकारमाथि हस्तक्षप गरे सह्य हुँदैन।’