माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पदीय भागबण्डाले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई कुनै असर नपार्ने बताएकी छन्।
भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले दुई पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टी एकता संयोजन समितिको संवाद अनुरुप नै पार्टी एकीकरण छिट्टै हुने र पदीय भागबण्डाको विषयले पार्टी एकीकरणमा कुनै असर नपर्ने बताइन्।
उनले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरण पश्चात कसले सरकारको नेतृत्व भन्ने विषय गौण भएको बताइन्।
पछिल्लो समयमा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको कमजोरीका कारण पार्टी एकीकरण विषयको छलफलमा ढिलाइ भए पनि उनको स्वास्थ्य लाभसँगै पार्टी एकीकरणले तीव्रता पाउने उनले बताइन्।
वर्तमान सरकारले जनमतको ख्याल नगरि निर्वाचनमा पराजय पश्चात पनि सत्ता लम्ब्याउन खोजेको भन्दै नैतिकताको आधारमा यो सरकारले छिटो सत्ता छाड्नु पर्नेमा उनको जोड थियो।
नयाँ सरकार गठनमा देखिएको विभिन्न अवरोधमा एक पछि अर्को संस्था लागिपरेको भन्दै नयाँ सरकार निमार्णमा वर्तमान देउवा सरकार बाधक नबनी बाटो खोल्न आग्रह गरिन्।