एमाले र माओवादीका विद्यार्थी र युवा भातृ संगठनहरूले निर्वाचन आयोग अगाडि सडक बहस गर्ने भएका छन्।
वाम गठबन्धनका युवा तथा विद्यार्थी भातृ संठगनले मतपरिणाम घोषणा नहुनुमा निर्वाचन आयोगलाई दोषी करार गर्दै आएका छन्।
अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले २१ गते निर्वाचन आयोग अघि सडक बहस गर्न लागेको जानकारी दिए। निर्वाचनको मतपरिणाम घोषणामा ढिलाइ गरेको भन्दै एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनहरूले मंगलबार सडक प्रदर्शन गरेका थिए।
प्रदर्शनमा एक प्रहरी र एक एमाले कार्यकर्ता घाइते भएका थिए। युवा र विद्यार्थी संगठनहरूले प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध देशभर विरोध कार्यक्रम समेत सञ्चालन गर्ने जनाएका छन्। त्यस्तै २० गते पेट्रोलियम र ग्यासको मूल्य वृद्धिको विरोधमा आयल निगम घेराउ गर्ने भएका छन्।