नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरू तयार रहेको विश्वास दिलाएका छन्।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।
उनले भने,‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरू जीवित हुन्छन्, त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न हामी तयार छौं।’
नेता लेखकले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भैइनसकेको समेत जिकिर गरे । यद्यपी उनले जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने भन्दै आफूहरूको शुभकामना रहेको सुनाए।
तर उनले एमाले र माओवादी बाहेक पनि सरकार बन्न सक्ने संभावना रहेको औंल्याए । उनले भने,‘निर्वाचनको सम्पूर्ण मतपरिणाम आओस्, अनि यो कुरा क्लियर हुन्छ।’
आफ्नो पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा तत्काल केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेर व्यापक समिक्षा गरिने पनि उनले जानकारी दिए । उनले भने,‘हामी सूक्ष्म ढंगले छलफल गर्छौं, र आवश्यक निर्णय लिन्छौं।’
उनले निर्वाचनमा कुनै एक नेताको कारणले मात्रै पार्टी पराजित नभएको पनि दाबी गरे । उनले भने,‘कांग्रेसले विगतमा पनि सरकारको नेतृत्व गरेको बखत निर्वाचनमा हार व्यहारेको छ, हार्नुको कारणको खोजी हुन्छ।’ लेखकले एक जना नेताको गुण र दोषको आधारमा निर्वाचन नहारेको भन्दै समग्रबारेमा समिक्षा गरिने जानकारी दिए ।