वाम गठबन्धनका नेताहरूले एमाले र माओवादी केन्द्रबीच एकता हुन नदिने सपना नदेख्न सत्तारुढ नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।
एमाले नेता रघुवीर महासेठ र माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रदेश प्रमुख राजनीतिक सहमतिको आधारमा मात्रै तोक्न सरकारसँग माग गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता महासेठले वाम गठबन्धनलाई फुटाउने षडयन्त्र गरिरहे कांग्रेस आफैँ समाप्त भएर जाने चेतावनी समेत दिए।
उनले जनादेशअनुसार सरकार गठन प्रक्रियामा ढिलाई नगर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराए।
माओवादी केन्द्रका नेता पौडेलले प्रदेश प्रमुख नियुक्ति राजनीतिक सहमतिकै आधारमा गर्न सरकारसँग माग गरे। उनले राष्ट्रिय सभाको निर्वाचनमा लागि पनि प्रदेश प्रमुख तोक्नुपर्ने भएकाले त्यसमा सहमति जुटाउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए।।
नेता पौडेलले वाम गठबन्धन नेतृत्वमै नयाँ सरकार गठन हुने दाबी गरे।