उच्च अदालत तुलसीपुर दाङले बबई गाउँपालिकाको कार्यालय नसार्न आदेश दिएको छ।
पुस १० गते उच्च अदालत तुलसीपुरमा केही वडा सदस्यसहित त्यस ठाउँका झन्डै चारदर्जन जति स्थानीयले गाउँपलिकोको केन्द्र सारेपछि उच्च अदालतमा रिट निवेदन दिएका थिए।
सोमबार साँझ अबेर उच्च अदालतले उक्त रिट निवेदनमा फैसला गर्दै गाउँपालिकाको केन्द्र हंसपुरबाट हापुरे नसार्न आदेश दिएको हो। उच्च अदालतको फैसलामा हंसपुरबाटै गाउँपालिकाको दैनिक कामहरू गर्न आदेश समेत दिइएको छ। उच्च अदालतले तत्कालका लागि हंसपुर केन्द्रबाट काम गर्न गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो।
स्थानीय तह सेवा सञ्चालन तथा व्यवस्थापन आदेश २०७४ को दफा ४ बमोजिम उक्त आदेश जारी गरेको उच्च अदालतको आदेशमा उल्लेख छ। उच्च अदालत तुलसीपुरमा पुसको पहिलो साता गाउँपालिकाको केन्द्र जबरजस्ती गाउँपालिकाका अध्यक्षले हंसपुरबाट हापुरे सारेको भन्दै उच्च अदालतमा रिट निवेदन परेको थियो।
तर, उक्त गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल प्रथम गाउँसभाको निर्णय अनुसार केन्द्र हापुरे सारिएको यसअघि जानकारी दिएका थिए ।