संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले दुई नम्बर प्रदेशमा बहुमत ल्याएका छन्। दुई पार्टीले प्रदेश संसद र केन्द्रीय संसदमा चुनावी तालमेल पनि गरेका थिए । चनावअघि दुवै पार्टीका नेताले पार्टी एकतासमेत गर्ने बताएका थिए।
चुनावपछि भने यी दुई दलबीच पार्टी एकताबारे केही कुरा भएको छैन। पार्टी एकता त परको कुरा दुई दल मिल्दा प्रदेश नम्बर २ मा बन्ने सरकारका बारे पनि उनीहरुबीच छलफल भएको छैन। पार्टी एकता र सरकार गठनबारे दुई दलका नेताका परस्पर विरोधी धारणा सार्वजनिक भइरहेका छन्।
राजपाका नेताहरुले दुई नम्बर प्रदेशमा दुई पार्टी मिलेर सरकार बनाउने र पार्टी एकता गर्ने बताउँदै आएका छन् भने फोरमले न सरकार गठनमा रुची देखाएको छ न त पार्टी एकतामा नै चासो दिएको छ।
केहीदिन अघि सेतोपाटीसँग कुरा गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले चुनावताका नै आफू राजपाका नेताहरु मिलाउँदा मिलाउँदै हैरान भएको बताएका थिए।
सोमबार यादवले दुई नम्बर प्रदेशमा सरकार बनाउने र पार्टी एकता गर्ने विषयमा कुनै छलफल नै नभएको सेतोपाटीलाई बताए।
‘अहिलेसम्म प्रदेश प्रमुखको नियुक्ति भएको छैन। अनि कसरी प्रदेश सरकारको गठनका विषयमा छलफल हुन्छ?’उनले भने,‘राष्ट्रिय सभाको गठन लगायतका जटिलताले गर्दा सरकार गठनलाई थप जटिल बनाएको छ ।’
फोरम र राजपाको पार्टी एकताका विषयमा समेत कुनै औपचारिक छलफल नभएको यादवले बताए।
‘राजपाले पार्टी एकता गर्ने भनेर कुनै पनि औपचारिक निर्णय गरेको छैन। हामीले पनि कुनै छलफल गरेका छैनौं,’ उनले भने,‘राजपाका छ जना अध्यक्षका छ वटा धारण आउछन् अनि कसका कुरा पत्याउने?’
फोरमले केन्द्रीय सरकार बनाउने क्रममा जुन पार्टीसँग गठबन्धन हुन्छ प्रदेशमा पनि त्यही गठबन्धन बनाउने योजना बनाएको छ।
‘केन्द्रमा सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन,’ यादवले भने,‘नेपालमा जे काम पनि अन्तिम चरणमा हतारहतारमा हुन्छ। जे कुरा पनि भद्रगोल छ।’
राजपाका नेताहरु भने दुई पार्टीको एकता र दुई नम्बर प्रदेशमा सरकार गठनका लागि जनताले जनादेश दिएको बताउँछन्।
‘राजपा–फोरमलाई जनताले अनुमोदन गरेको छ। अब यी दुई पार्टीको एकता पनि हुनुपर्छ,’ राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले सेतोपाटीसँग भने,‘हामीले छ पार्टीको एकता गरेका छौं। अब फोरमसँग पनि एकता गरेर सात पार्टी एक ठाउमा हुनुपर्छ।’
दुई पार्टीको बहुमत रहेकोले दुई नम्बर प्रदेशमा सरकार पनि दुई पार्टीकै बन्ने उनले बताए।
केन्द्रीय सरकारमा सहभागी हुने भन्दा पनि आफुहरुका लागि संविधान संशोधन मुख्य अजेन्डा भएको उनले बताए।
‘हाम्रो पहिलो अजेन्डा संविधान संशोधन हो। त्यसपछि मात्रै सरकार हो,’ उनले भने, ‘ठूला तीन पार्टी कसरी अगाडि बढ्छन् त्यसकै आधारमा हामी निर्णय गर्छौ।’
प्रदेश र प्रतिनिधि सभाको चुनाव मिलेर लडेका फोरम र राजपा केन्द्रीय संसदमा १० र ११ सिट जितेका छन् भने प्रत्यक्षतर्फ प्रदेश नम्बर २ का ६४ प्रदेश सभा सदस्यमध्ये फोरमले २० र राजपाले १५ सिट जितेको छ।