प्रतिनिधि सभा चुनाव भएकाे महिना दिन बित्न लाग्दा पनि नयाँ सरकार बन्ने सुरसार छैन। नयाँ सरकार बन्न प्रतिनिधि सभाको अन्तिम परिणाम आउनु पर्ने, प्रतिनिधि सभाले पूर्णता पाउन राष्ट्रिय सभाको परिणाम चाहिने भएकाले नयाँ सरकार गठनमा ढिलाइ भएको हो।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि राष्ट्रिय सभा चुनाव गर्ने बाटो खुलेको छ। तर राष्ट्रिय सभाको चुनावी प्रक्रियाका कारण नयाँ सरकार भने अझै डेढ महिनापछि मात्र बन्ने भएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव गर्न कम्तिमा तीस दिन समय लाग्ने जनाएको छ। आयोगले यसअघि नै राष्ट्रिय सभा निर्वाचनमा सहभागिता हुन दल दर्ता गर्न १५ दिनको समय दिइसकेको छ।
एमाले नेताहरुले भने निर्वाचन आयोगले प्रक्रियामा लामो समय खर्चिएकोमा प्रश्न गरेका छन्।आइतबार एमाले सचिव प्रदीप ज्ञवालीले गुल्मी पुगेर व्यङ्ग्यात्मक शैलीमा निर्वाचन आयोगलाई दलको कार्यालय नबन्न सुझाव दिए।
के साँच्चै आयोगले राष्ट्रिय सभाको चुनाव गर्न अनावश्यक धेरै समय मागेको हो त? हामीले यो प्रश्न निर्वाचन आयुक्त नरेन्द्र दाहाललाई सोध्याैं।
दाहालले राष्ट्रिय सभा निर्वाचनका लागि ४५ दिनको समय लाग्ने भए पनि आयोगले छिटो गर्न ३० दिनमा सक्ने तयारी गरिरहेको बताए।
निर्वाचनको सामान्य पक्रियामा लाग्ने समय घटनाउन नमिल्ने दाहालकाे तर्क छ।
'निर्वाचन अधिकृतको कार्यालय खोल्नुपर्यो्, मनोनयन दर्ता, उजुरी, दावी विरोध, मनोनय फिर्ता, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह प्रदान', यस्ता काम थुप्रै छन्', उनले भने, 'अहिलेसम्म त हामीले मतदाता नामावली समेत तयार गर्न सकेका छैनौँ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सांसद र स्थानीय सरकारका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा २ हजार ५६ मतदाता हुनेछन्।
'मनोनयन दर्ता पछि मतपत्र बनाउनु पर्नेछ। स्थानीय सरकारका प्रमुख र उपप्रमुखका लागि छुट्टै र प्रदेशका सांसदलाई छुट्टै मतपत्र बनाउनुपर्छ। किनभने उनीहरुको मतभार फरक हुन्छ। अझ स्वतन्त्र उम्मेद्वार पनि खडा हुन सक्छन,' दाहालले भने।
उनले निर्वाचनको सामान्य प्रक्रियामा नै ३५ दिन समय लाग्ने देखिएको बताए।
'प्रचार प्रसारका लागि ७ दिन समय मात्र समय दिने तयारीमा छौँ', दाहालले भने, 'त्यसपछि तीन दिन त मौन अवधि हुन्छ।'
आयोगले राष्ट्रिय सभाको निर्वाचनका लागि आन्तरिक कार्यतालिका समेत तयार गरिसकेको छ।
निर्वाचन आयोगका प्रवक्ता दिनेश घिमिरे पनि आयोगले प्रक्रियाको नाममा धेरै समय लिएको भन्ने आरोपको खण्डन गरे।
'दलहरु आफ्नो फाइदा हेरेर ब्याख्या गर्छन्। आयोगले सजिलो होस् भनेर समय निर्धारण गर्ने हो। दल दर्ताका लागि १५ दिन दियो भने १० दिन किन दिएन भन्छन्। १० दिन दिएको भए ५ किन भएन भन्थे,' घिमिरेले भने। उनले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा नभएको र प्रदेश प्रुमख समेत नतोकिएको अवस्थामा दिइएको १५ दिनको समयमा प्रश्न उठाउनु जायज नभएको बताए।
'प्रदेश सभाको रिजल्ट आएको छैन। राष्ट्रिय सभाको मिति तोकिएको छैन। यसले के बिगार्छ', घिमिरेको प्रश्न छ, 'अहिलेकै प्रक्रियामा पनि २० गतेसम्ममा बल्ल प्रदेश सभाको रिजल्ट आउँछ।'
उनले राष्ट्रिय सभा निर्वाचनका लागि लाग्ने समय पनि स्वभाविक भएको बताए।
'राजनीतिक दलबाट उम्मेद्वार मनोनयनका लागि आधिकारिक हस्ताक्षर माग्नु पर्यो, मतदाता नामावली तयार गर्नुपर्यो', मनोनय दर्ताअघि कालोसूचीमा रहे/नरहेको चेक जाँच गर्नुपर्छ', प्रक्रिया हुन्छन्', घिमिरेले भने, 'यी सबै प्रक्रिया पूरा गर्नुको विकल्प छैन।'
आयोगले आइतबार मात्र राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको आधिकारिकप्रति प्राएको छ आजैदेखि राष्ट्रिय सभा निर्वाचनसम्बन्धी नियमावली र निर्देशिका बनाउन आयोग जुटेको छ।