प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणामबाट निराश नहुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।
प्रधानमन्त्री देउवाले निर्वाचनमा हारेपछि आफूमाथि पार्टी भित्रैबाट विभिन्न आरोप लगाएको भन्दै आपत्ति जनाए। आइतबार काठमाडौंमा आयोजित ‘आजको यथार्थता र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी भित्रकै कमीकमजोरीका कारण कतिपय ठाउँमा कांग्रेसले हार व्यहोर्नु परेको दाबी गरे।
उनले अनुशासनसहितको मेलमिलाप नहुँदा पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको तर्क समेत गरे। प्रधानमन्त्री देउवाले कांग्रेसलाई कतिपय ठाउँमा मतगणनाको क्रममा हराइएको आरोप लगाए।
उनले निर्वाचनमा हारेपनि देशलाई जिताउने कामको नेतृत्व नेपाली कांग्रेसले नै गरेको दाबी गरे।
प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई सुदृढ बनाउन पनि नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउन अनुशासनसहितको एकताबद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले समानुपातिकतर्फको निर्वाचनमा कांग्रेसले नहारेको पनि स्मरण गराए।