नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाइ गर्न नहुनेमा जोड दिएका छन्।
नेता नेपालले सरकार गठनमा केही ढिलाइ हुने देखिएपनि माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाइ गर्न नहुने बताएका हुन्।
आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौं महानगर समितिले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारहरूलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनले दुई पार्टीबीचको विचारधारा र संगठनमा एकरूपता ल्याउन दुई ओटा कार्यदल तत्काल बनाउनुपर्ने प्रस्ताव अघि सारे।
दुई पार्टीबीचको विचारमा एकरूपता ल्याउन विचारधारात्मक कार्यदल र संगठनमा एकरूपता ल्याउन संगठनात्मक कार्यदल बनाएर अघि बढ्दा मात्रै एकता प्रक्रिया सहज हुने नेता नेपालको तर्क छ।
एमाले वरिष्ठ नेता नेपालले निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गर्न ढिलाइ गरेकोमा असन्तुष्टि व्यक्त गरे। उनले जनादेश अनुसार सरकार गठनमा ढिलाइ गर्ने छूट कसैलाई नरहेको स्पष्ट पारे।