राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न सुझाएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्ट राष्ट्रपति कार्यालय पुगेका प्रचण्डले अध्यादेश जारी गरी अहिलेको गतिरोध हटाउनु पर्ने बताएका हुन्।
प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले सेतोपाटीसँग भने, 'राष्ट्रपतिलाई प्रक्रिया नरोकौं भनेर आग्रह गर्नुभएको छ।'
अध्यादेश जारी भएर राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ। बुधवार एमाले अध्यक्ष ओलीलाई पनि प्रचण्डले उनकै निवास बालकोट पुगेर अध्यादेश अगाडि बढाउनुपर्ने भनेका थिए।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश दुई महिनादेखि राष्ट्रपति कार्यालयमा अड्किएकाले गतिरोध उत्पन्न भएको छ।
कानुनको अभावमा राष्ट्रिय सभा निर्वाचन हुन सकेको छैन। राष्ट्रिय सभा निर्वाचनबिना प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको अन्तिम सूची पठाउन भन्दै निर्वाचन आयोगले दलहरूलाई चिठी पठाउन सकेको छैन।
राष्ट्रिय सभामा निर्वाचित सांसद र प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसदको संख्या हेरेर आयोगले प्रत्येक दललाई ३३ प्रतिशत महिलाको सुनिश्चितता हुने गरी समानुपातिकको अन्तिम सूची पठाउन चिठी लेख्छ।
एमालेले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश असंवैधानिक भएको तर्क गर्दै आएको छ। यो अध्यादेशका बारेमा लामो समयसम्म चुप बसेका माओवादी अध्यक्ष प्रचण्ड पछिल्ला केही दिनदेखि सार्वजनिक रूपमा बोल्न थालेका थिए।
आइतबार चितवन पुगेर उनले कांग्रेसबिना राष्ट्रिय सभा जीवन्त नहुने भन्दै एकल संक्रमणीय आधारमै राष्ट्रियसभा निर्वाचनका पक्षमा आफ्नो सहमति रहेको संकेत गरेका थिए।
एमालेले बहुमतीय आधारमा राष्ट्रिय सभाको निर्वाचन गर्नु पर्ने अडान राख्दै आएको छ। मन्त्रिपरिषद्ले तयार पारेर राष्ट्रपतिकहाँ पठाएको अध्यादेशमा भने राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय आधारमा हुने उल्लेख छ।
मन्त्रिपरिषद्ले पारित गरेर पठाएको अध्यादेश दुई महिनादेखि रोकेर राख्ने अधिकार राष्ट्रपतिसँग नभएको भन्दै कांग्रेसले राष्ट्रपतिको आलोचना गरेको छ।
पछिल्लो निर्वाचनबाट राष्ट्रिय दल बन्न सफल भएका दुई मधेसवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले पनि एकल संक्रमणीय आधारमै राष्ट्रिय सभा निर्वाचन गर्नुपर्ने अडान सार्वजनिक गरेका छन्।
बिहीबार बिहानको भेटमा राष्ट्रपतिले माओवादी र एमालेले बहुमत ल्याएकाले गतिरोध अन्त्य गर्न पनि दुबै पार्टीले पहल गर्नु पर्ने बताएकी थिइन्।