एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वामगठबन्धनको सरकार निर्माण हुने बताएका छन्।
भक्तपुरमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।
कार्यक्रममा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकीकरण हुने उनको दाबी छ। पार्टी एकीकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उनले अब बन्ने सरकार स्थायी सरकारका रूपमा रहने बताए।
अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरू गैरकानूनी र नैतिकता विपरित रहेको उनले बताए। यो गतल काम हो उनले भने ‘काम चलाउ सरकारले अहिले गरेका निर्णयहरू नयाँ सरकारले सबै बदर गर्नेछ।’
उनले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरू जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अवस्थामा हेरफेर गर्न सकिने पनि बताए।
कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणीकरण गर्नुपर्ने बाध्यता नरहेको बताए।
सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाइ छ। निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए।
उनले समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताएका छन्। उनले राजधानीका लागि भौतिक पूर्वाधार भएको स्थान अथवा नयाँ ठाउँलाई विकास गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।