राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दबाब दिएको छ।
पार्टीको बुधबार बसेको राजनीतिक समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने निष्कर्ष निकाल्दै तत्काल जारी गर्न दबाब दिएको हो।
संविधान प्रतिकूल हुने भएकाले सो अध्यादेश तत्काल जारी गरेर मुलुकलाई निकास दिन राष्ट्रपतिलाई पुनः आग्रह गरिएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए।
बैठकले नयाँ सरकार गठन पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारेको छ। मधेशी जनताको मागअनुसार संविधान संशोधन गर्न पहल गर्ने राष्ट्रिय जनता पार्टीको योजना छ।
पार्टीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग गठबन्धन गरेर प्रदेश नम्बर २ मा सरकार बनाउन आन्तरिक छलफल सुरू गरेको छ। बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका पार्टीका सांसदहरूलाई बधाई समेत दिएको छ।