नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार घाम ताप्दै डेढ घण्टा कुराकानी गरेका छन्। ओली निवास बालकोटको छतमा दुई नेताले एक्ला एक्लै कुराकानी गरेका हुन्।
उनीहरुबीच पार्टी एकता र सरकार निर्माणबारे कुराकानी भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
कुराकानीपछि ओली निवासको छतमा दुवै नेता टेलिभिजनको क्यामेरा अगाडि भलाकुसारी गर्दै देखापरे। दुई नेताबीच सरकार गठनका विषयलाई लिएर सम्बन्ध चिसिएको चर्चा मिडियामा चुलिएको छ। चर्चालाई चिर्न उनीहरु क्यामेरा अगाडि उभिएका देखिन्थे।
बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गाडीको कालो सिसा नझारी अगाडि बढे।
उक्त भेटमा पार्टी एकताका लागि संयोजन समितिको बैठक राख्ने समझदारी भएको अधिकारीले उल्लेख गरे। तर बैठक अघि ठोस एजेण्डाकाबारे पुन: कुराकानी गर्ने सहमति पनि भएको छ।
नयाँ सरकार गठनका लागि शेरबहादुर देउवाले सहजता बनाउनुपर्नेमा भने दुवै एक ठाउँमा भएको अधिकारीले बताए।