नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढ्ने स्पष्ट पारेका छन्।
बुधबार काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उम्मेदवारहरूको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘ दुवै दलका शीर्ष नेताहरूबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाइने छ।’
यसका साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोप लगाएका छन्।
उनले निर्वाचनमा हार व्यहोर्दा समेत प्रधानमन्त्री देउवाले पदबाट राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्। वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न दबाब दिए।
नेता नेपालले सरकार गठनका विषयमा वाम गठबन्धनभित्र विवाद नरहेको दाबी गरेका छन्। उनले झण्डै २ तिहाई बहुमत ल्याएको वाम गठबन्धन नयाँ सरकार बनाउन आतुर रहेको स्पष्ट पारे।