पाँचथरको फालेलुङ गाउँपालिकाको केन्द्र मतदान गरी टुङ्ग्याइएको छ।
मच्छेबुङ कि थकेबुङलाई केन्द्र बनाउने भन्ने विषयमा गाउँसभामा छलफल हुँदा सहमति नभएपछि मतदान गरी केन्द्रको टुंगो लगाएको हो। मतदानमा सहभागी गाउँ कार्यपालिकाका ४० जना सदस्यमध्ये २४ जनाले थकेबुङलाई केन्द्र बनाउने पक्षमा मतदान गरेका थिए भने १६ जनाले भने मच्छेबुङलाई केन्द्र बनाउने पक्षमा मतदान गरेको निर्वाचन अधिकृत तथा गाउँपालिकाका कार्यकारी अधिकृत मौसम ढुंगेलले जानकारी दिए। अब भने गाउँपालिकाको केन्द्र थकेबुङ हुने भएको छ।
स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ मा कुनै गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र परिवर्तन गर्नु परेमा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि बहाल भएपछि ६ महिनाभित्र गाउँसभा वा नगरसभामा तत्काल कायम भएका सदस्य संख्याको सामान्य बहुमतको निर्णयबाट त्यस्तो नाम वा केन्द्र परिवर्तन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने र सरकारले सिफारिस प्राप्त भएपछि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संशोधन गर्न सक्ने प्रावधान छ।