काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पुरातत्व विभागको स्वीकृतिबिना नै मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरू गरेको आरोप लगाएकी छन्।
उपमेयर खड्गीले काठमाडौं उपत्यकाको सम्पदा नै लोप हुनेगरी निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचना निर्माणको काम अघि बढाउन नदिने दाबी समेत गरिन्।
मंगलबार बिहान रानीपोखरीको अवलोकन गरेपछि उनले संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै विज्ञहरूसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढ्ने स्पष्ट पारिन्। उनले रानीपोखरी निर्माणको सम्बन्धमा मेयर शाक्यले आफूसँग सामान्य परामर्श समेत गर्न नचाहेको बताइन्।
उपमेयर खड्गीले पुरातत्व विभागको स्वीकृतिबिना कुनैपनि सम्पदा पुनर्निर्माणको काम अघि बढाउन नमिल्ने दाबी समेत गरिन्।
उनले मेयर शाक्य आफू एक्लै अघि बढ्न खोजेको भन्द्रै आपत्ति जनाइन्।