नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार दिउँसो राजधानी फर्कने भएका छन्।
उनी गत शुक्रबार चितवन प्रस्थान गरेका थिए। उनको शनिबार नै राजधानी फर्कने कार्यक्रम थियो। तर, जहाज उड्न नसकेको भन्दै प्रचण्ड चितवनमै रोकिएका थिए। मतदातालाई धन्यवाद दिन चितवन पुगेका ‘प्रचण्ड’ रुपन्देहीको भैरहवा र नवलपरासी समेत पुगेर सम्बोधन गरेका थिए।
‘प्रचण्ड’ राजधानी बाहिर रहँदा नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेको छैन। शनिबारका लागि राखिएको बैठक ‘प्रचण्ड’को अनुपस्थितिमा रोकिएको थियो। ‘हामी मंगलबार दिउँसो फर्कने कार्यक्रम छ’, प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले सेतोपाटीसँग भने, ‘मतदातालाई धन्यवाद दिन चितवन आएको हौं। धेरै कार्यक्रममा व्यस्त हुनु पर्यो।’ प्रचण्डले चितवन पुगेर सरकारमा एमालेसँग आलोपालो नेतृत्व गर्ने सहमति भएको बताएका थिए।
त्यस्तै, उनले सोमबार चितवनमै राष्ट्रिय सभामा कांग्रेस आवश्यक रहेको धारणा थिए। एमालेसँगै राष्ट्रिय सभा निर्वाचन अध्यादेश बहुमतीय बनाउनुपर्ने पक्षमा खडा भएको माओवादी केन्द्र पछिल्लो समय एकल संक्रमणीयमा लचिलो देखिएको छ। ‘प्रचण्ड’ले चितवन पुगेर राजनीतिक धारणा राखिरहँदा राजधानीमा वाम गठबन्धनको निरन्तरतामा संशय बढ्दो छ।