सत्तारुढ नेपाली कांग्रेसका सबै भातृ संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाब दिएका छन्।
कांग्रेसमा आबद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, डिएलए, नेपाल र नेपाल दलित संघले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाब दिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले तत्काल राष्ट्रपतिबाट अध्यादेश जारी नभए आन्दोलनका सशक्त कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी समेत दिइन्। कांग्रेसका भातृ संस्थाहरूले सरकारले पठाएको अध्यादेश जारी नगरेर राष्ट्रपति भण्डारी संविधान विपरित चल्न खोजेको आरोप समेत लगाएका छन्।
कांग्रेस भातृ संस्थाहरूले राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी नगरेकै कारण नयाँ सरकार गठन प्रक्रिया अघि बढन कठिनाइ भइरहेको तर्क पनि गरेका छन्।