शुक्रबार चितवनमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति भएको खुलासा गरे। उनले आइतबार फेरि राष्ट्रिय सभामा कांग्रेस आवश्यक रहेको धारणा राखे।
‘प्रचण्ड’ले काठमाडौं बाहिर राखेका धारणाबाट राजधानी तरङ्गित बनिरहेको छ। एकातिर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन भएको संयोजन समितिको बैठक बस्न सकिरहेको छैन। उता नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार गठन अघि नै एकता प्रक्रियाले ठोस स्वरुप लिनुपर्ने निर्णय नै गरिसकेको छ।
‘प्रचण्ड’को धारणाबाट एमाले नेताहरूमा संशय पैदा भएको देखिन्छ।
एमाले नेता विष्णु रिमालले आइतबार ‘प्रचण्ड’को फरक/ फरक धारणा रहेका समाचार ट्विट गर्दै जिज्ञासा राखे- ‘कुन सहि रहेछ!’
तर, एमालेकै कतिपय नेता भने एकता प्रक्रिया तत्कालै टुङ्गो लाग्ने बताइरहेका छन्।
एमाले उपमहासचिव विष्णु पौडेल सेतोपाटीसँग एकतामा कुनै संशय नरहेको बताए।
‘दूरी बढोस् भन्ने चाहनेहरू छन्’, पौडेलले भने, ‘एमाले पंक्ति र माओवादी पंक्ति बाहिरका मानिसहरू दूरी बढाउन कोसिस गरिरहेका छन्। चाहाना राखिरहेका छन् तर तिनीहरूको कोसिस सफल हुँदैन।’
उनले राष्ट्रिय सभाको निर्वाचन प्रणालीमा पनि एमाले र माओवादीको धारणा समान रहेको दाबी गरे।
शुक्रबार बिहान बालुवाटारमा भएको बैठकपछि कांग्रेस वरिष्ट नेता रामचन्द्र पौडेलले एकल संक्रमणीय निर्वाचन प्रणालीका लागि माओवादी तयार भएको बताएका थिए। एमालेले बहुमतीय प्रक्रियामा निरन्तर अडान राख्दै आएको छ। तर माओवादी केन्द्रले त्यसयता स्पष्ट धारणा राखेको छैन।
'निर्वाचन प्रणालीमा एउटै धारणा छ,' पौडेलले भने, ‘चर खोजेर यहाँ(निर्वाचन प्रणालीमा) माओवादी र एमाले विभाजित हुन्छ होला भनेर लागेका छन्। त्यस्तो उर्जा अन्त लगाए हुन्थ्यो।'
उनले एकता प्रक्रियाको निर्णय पनि ‘सरप्राइज’ शैलीमा हुने दाबी गरे। उनले माओवादी केन्द्रको सरकार गठन अघि नै पार्टी एकतामा ठोस निर्णयमा पुग्नुपर्ने निर्णयलाई अन्यथा नलिइएको टिप्पणी गरे।
'एकता ढिला गर्नपुर्छ भन्ने हामीले कहाँ भनेको छ?, अविलम्ब गर्नुपर्छ’, पौडेलले भने, संशय छैन, हिजो मान्छेहरूले सहमति र राष्ट्रिय सभा गृहको कार्यक्रम देखेर ‘सरप्राइज’ भन्थे अब एकता प्रक्रिया पनि त्यही ढंगले टुङ्गिन्छ। कुनै ‘कन्फ्यूजन’ छैन।'