संघीय समाजवादी फोरमले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएको छ।
आइतबार विहान राष्ट्रपतिसँगको छलफलमा फोरमका अध्यक्ष उपेन्द्र यादवले, सरकारले पठाएको अध्यादेश प्रमाणीकरणको विकल्प नभएको बताएका हुन्।
अध्यादेश प्रमाणीकरणबारे परामर्श गर्न राष्ट्रपतिले फोरमका नेताहरुलाई डाकेकी थिइन्। फोरम अध्यक्ष यादव र नेता राजेन्द्र श्रेष्ठ राष्ट्रपतिसँग छलफलमा गएका थिए।
फोरमका प्रेस सल्लाहकारर महेश चौरसीया का अनुसार राष्ट्रपतिले अध्यादेश अड्काउन नहुने सुझाव यादवले दिएका थिए।
'यो विधेयक जस्तो गरि चित्त नबुझे फर्काउने र परामर्श गर्न मिल्दैन। सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ। अध्यादेशमा भएका एकल संक्रमणीय प्रणाली बाट राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ भन्ने छ त्यसमा हाम्रोपनि समर्थन छ,त्यसैले यो अध्यादेश पारित हुनुपर्छ,' अध्यक्ष यादवलाई उदृत गर्दै चौरसीयाले भने।
राष्ट्रपति कार्यालयका प्रवक्ता माधव शर्माका अनुसार राष्ट्रपतिले दलहरुबीच सहमति जुटाउने पहल गर्न फोरमका नेताहरुलाई भनेकी थिइन्।