नेकपा माओवादीका नेता एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महराले सरकार र पार्टीको नेतृत्वमा एउटै व्यक्ति नहुने बताएका छन्।
आइतबार बिहान दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ मा महराले सरकार र पार्टीको नेतृत्व फरक/फरक व्यक्तिले गर्ने बताएका हुन्।
दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महराले एमाले र माओवादीबीच सम्मानजनक पार्टी एकता हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘सम्मानजनक रूपमा पार्टी एकता हुनेछ र त्यो एकतापछि प्रधानमन्त्री र पार्टीको अध्यक्षता फरक/फरक व्यक्तिले गर्नुपर्छ’ पूर्व उपप्रधानमन्त्री समेत रहेका महराले भने।
समाजवादी क्रान्ति पूरा गर्नका लागि पार्टी एकता गर्न लागेको बताएका उनले एकता सम्मानजनक रूपमा हुनुपर्ने बताए। ‘पार्टी एकतापछि एमालेले माओवादी निल्छ र माओवादीले एमाले निल्छ भन्नु भन्दा एकतापछि एमाले र माओवादी दुवै पार्टी रहँदैनन्’ महराले भने ।
दुवैपार्टी एक अर्कामा विलय भएर नयाँ पार्टी निर्माण हुने उनको धारणा थियो। पार्टी एकताको प्रक्रिया सुरू भइसकेको भन्दै उनले सरकार गठन र पार्टी एकता सँगसँगै र सम्मान जनक रूपमा हुनुपर्ने जोड दिएका थिए ।
दाङ राजधानी,बुटवल पर्यटकीय र नेपालगञ्ज औद्योगिक सहरआइतबार बिहानै मतदातालाई धन्यवाद ज्ञापन गर्न भन्दै घोराहीको वडा नं. १५का विभिन्न स्थानमा पुगेका महरालाई स्थानीय मतदाताले दाङ राजधानी बन्छ कि बन्दैन? भन्ने प्रश्न प्रमुख सोधेपछि महराले कुनै पनि हालतमा दाङ प्रदेश राजधानी हुने बताएका छन्। ‘दाङलाई प्रदेश राजधानी बनाउने सवालमा मैले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग कुरा गरिसकेको छु। तपाई निश्चिन्त हुनुहोस् दाङ नै राधानी हुन्छ ’ महराले भने ।
महराले दाङ राजधानी हुने कुरामा कुनै शंका नगर्न मतदातालाई आश्वास्त पारेका छन् । अहिले सम्म आफूले राजनीतिमा कहिलै हार व्यहोर्नु नपरेको उल्लेख गर्दै यसपटक पनि राजधानी बनाउने कुरामा आफू विजयी हुने महराको दाबी थियो । उनले भौगोलिक स्थिति , पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदूरीका हिसाबले दाङ ५ नं प्रदेशको राजधानी हुन उपर्युक्त रहेको बताए। बुटवललाई मुलुककै पर्यटकीय सहर र नेपालगञ्जलाई औद्योगिक सहरको रूपमा विकास गर्ने योजना महराले त्यस क्रमा प्रस्तुत गरेका थिए ।