यराष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश प्रमाणिकरणबारे दलहरुबीच विवाद बढिरहेका बेला राष्ट्रपतिले आइतबार संघीय समाजवादी फोरम र राजपाका नेताहरुसँग परामर्श गर्ने भएकी छन्। राष्ट्रपतिले दुईमहिना देखि यो अध्यादेश 'होल्ड' गरेर राखेकी छन्।
राष्ट्रिय सभा एकल संक्रमणीय निर्वाचनबाट गर्ने कि बहुमतियबाट भन्ने विवादमा दलहरुबीच मत बाझिएपछि निर्वाचनको मतपरिणाम सार्वजनिक र सरकार गठनको प्रक्रिया रोकीएको छ।
यहि विषयमा विहान १० वजे फोरमका नेताहरुसंग राष्ट्रपतिको छलफल हुने राष्ट्रपति कार्यालयका प्रवक्ता माधव शर्माले सेतोपाटीलाई जानकारी दिए।
'फोरमलाई छलफलका लागि डाक्नुभएको हो, उपेन्द्रजी लगायत को को आउनु हुन्छ मलाई थाहा छैन। यहि विधेयकबारे छलफल गर्न हो। आजै राजपाका नेताहरुलाई पनि छलफलका लागि बोलाउने कार्यक्रम छ,' उनले भने।
शुक्रबार यहि विषयलाई लिएर प्रधानमन्त्री देउवाले निर्वाचनबाट राष्ट्रिय दल बनेका पाँच पार्टीका शिर्षनेताको बैठक बोलाएका थिए। सबै दलले आफ्ना आफ्ना अडान दोहोर्याएपछी विना निष्कर्ष उक्त बैठक सकिएको थियो।
फोरम र राजपाले राष्ट्रिसभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणालीबाटै हुनुपर्ने उक्त वैठकमा बताएका थिए।