प्रतिनिधिसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले चुनावले राजनीतिक संक्रमणको अन्त्य गरेको बताएका छन्। नेपाल पत्रकार महासंघ दाङले शनिबार घोराहीमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दे विनाविभागीय मन्त्रीसमेत रहेका महराले तीनै तहको निर्वाचन सम्पन्न भए पनि अब मुलुकमा राजनीतिक संक्रमण समाप्त भएको तर्क प्रस्तुत गरेका हुन्।
‘तीनै तहको निर्वाचन हुनु नै संबिधान र संघियताको विधिवत कार्यान्वयन हुनु हो,’ महराले भने, ‘यसलाई ठूलो सफलता मान्नुपर्छ।’
अब देशलाई विकास र सम्मृद्धिको दिशातर्फ अघि बढाउने म्यान्डेट जनताले बाम गठवन्धनलाई दिएको उल्लेख गरेका उनले त्यही आधारमा आफूहरु अगाडि बढ्ने उनले बताए। ‘बामगठवन्धन बन्दा अधिनायकबाद आउँछ भनेर गलत तर्क गर्नेहरुलाई हामी अब मलुक सम्बृद्धिको दिशामा लगेर देखाउने छौं,’ महराले भने ।
तर उनले मुलुकलाई सबै समस्याबाट मुक्त गर्दै सम्मृद्धिको दिशातर्फ लैजानका लागि भने सबै दलहरु मिल्नुको विकल्प नरहेको बताए। ‘सबै दलहरुको एकतावाट मात्रै सम्वृद्धि सम्भव छ र त्यसका लागि सबै दल थप जिम्मेवार हुनुपर्नेछ, ’ महराले भने।
अबको तीन सातामा नयाँ सरकार गठन हुने र त्यो सरकारले मुलुकलाई सम्बृद्धिको मार्गमा लैजाने महराको दाबी थियो । कार्यक्रममा दाङ क्षेत्र नम्बर २ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले जनताको आधारभूत आबश्यकता पुरा गर्नु नै आफूहरुको पहिलो जिम्मेवारी हुने बताए।