बिना विभागीय मन्त्री कृष्णबहादुर महराले समानुपातिक सिट घोषणा भएलगत्तै नयाँ सरकार गठन हुने बताएका छन् ।
दाङमा शुक्रबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य समेत रहेका महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरू हुने बताएका हुन्। ‘निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ। समानुपातिक सिटको घोषणा भएपछि नयाँ सरकार निर्माण कसैले रोकेर नरोकिने छैन’ उनले भने।
आयोगले समानुपातिक सिट घोषणाको अन्तिम तयारी गरेको भन्दै उनले अबको तीन हप्ताभित्रै नयाँ सरकार गठन भइसक्ने उनले दाबी गरे।
यदि कुनै अवरोधले भूमिका खेलेन भने अबको तीन हप्ताको अवधिमा नयाँ सरकार बन्ने र त्यसपछि देश सम्वृद्धिको यात्रामा लम्कने उनले बताए। नेता महराले राष्ट्रियसभा गठनको विषयमा देखिएको विवाद पनि राजनितिक सहमतिबाटै टुंगिने बताए। एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको विषयले पनि तीव्रता पाएको महराले जानकारी दिए ।
प्रदेश राजधानी दाङ नै हुन्छमाओवादी केन्द्रका नेता समेत रहेका महराले ५ नं. प्रदेशको राजधानी दाङमै हुने दाबी गरेका छन् । ‘ ढुक्क हुनुहोस् ५ नं. प्रदेशको राजधानी दाङ नै हुनेछ’ उनले भने।
उनले दाङकै पक्षमा बहुमत भएको समेत दाबी गरेका थिए । तर, महराले बहुमत भन्दापनि राजनीतिक सहमतिका आधारमै दाङ प्रदेश नं. ५ को राजधानी घोषणा हुने बताए। उनले दाङ नै केन्द्र भागमा रहेको हुँदा दाङ राजधानी भएमा मात्रै न्याय हुने दाबी गरे । ‘प्रदेश राजधानी दाङ भएमा मात्रै समग्र ५ नं. प्रदेशको विकास गर्न सम्भव हुनेछ । किनकि दाङ नै ५ नं. का १२ वटा जिल्लाहरूको केन्द्रमा पर्छ’ महराले भने।
दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महराले दाङलाई प्रदेश नं. ५ को केन्द्रविन्दु बनाएर समग्र पश्चिम नेपालको विकास गरिने बताए ।