राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टीकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
शुक्रबार राजधानीमा प्रचार–प्रसार समिति टीकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन्।
मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निवार्चनमा सांसद चौधरीले प्रत्यासीलाई करिब २१ हजार मतान्तरले हराउँदै विजयी भएको जानकारी दिँदै भने,‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यवहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होइन भने निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ।’
उनले अघि थपे,‘रेशम चौधरीलाई फरार अभियुक्त आदि इत्यादीले सम्बोधन गर्ने गरिएको छ, यसका बारेमा छानबिन आयोगले सरकारलाई मधेशमा घटेका घट्नाको बारेमा छानबिन गरेर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ, त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न समेत माग गर्दछु।’
त्यस्तै, नवनिर्वाचित सांसद रेशमकी धर्मपत्नि रञ्जिता चौधरीले मतगणना स्थलमा प्रहरी प्रशासनले थारु समुदायमाथि अत्यधिक दमन गरेको स्मरण गराउँदै भनिन्,‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानबिनको लागि अझैपनि आग्रह गर्दछु।’
उनले अघि थपिन्,‘२ वर्ष ७ महिना बितिसक्दा पनि त्यो ७ गते बाहेक ८ गते कर्फ्यूकाबीचमा थारु समुदायका घरहरू छानीछानी जलाउन दिइएको छ, त्यो हाम्रो समुदायमाथिको आक्रमण हो की होइन? म धेरै टाढा जान चाहान्न गत मंसिर २१ गतेपछि हाम्रो विजयी घोषणा भएपछि मतगणनास्थल धनगढीमा हामीलाई प्रवेश गर्न दिइएन, जनमतको कदर गर्नुको साटो प्रशासन समेत हामीमाथि अन्याय गर्छ, हाम्रा घरहरू खानतलासी गर्छ, यो अन्याय होइन ?’
सुरक्षकर्मीबाट निर्वाचनको प्रचारप्रसारमा व्यापक दमन र पक्षपात भएको भन्दै रञ्जिताले थारु भएकै कारण विजयी जुलुससमेत निकाल्न नपाएकोमा दुःख व्यक्त गरिन्।
कार्यक्रममा राम बहादुर बढायर, फागुराम चौधरी लगायतले रेशम चौधरीका वारिसमार्फत तत्काल प्रमाणपत्र प्रदान नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।