प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको संसदीय निर्वाचनमा राष्ट्रिय दल बनेका पाँच राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।
प्रधामन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहित कांग्रेसका रामचन्द्र पौडेल र विमलेन्द्र निधि,एमाले अध्यक्ष केपी शर्मा ओली सहित एमालेका माधव नेपाल र सुवासचन्द्र नेम्वाङ, माओवादी अध्यक्ष पुष्पकमल दहाल र माओवादीका नारायण काजी श्रेष्ठ र रामबहादुर थापा बादल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका महन्थ थारु लगायत नेताहरु वैठकमा उपस्थित भैसकेका छन्।
मतगणना सकिएको अवसरमा मतपरिणाम प्रकाशन, राष्ट्रिय सभाको गठन लगायतका विषयमा देखिएका विवादबारे छलफल गर्न बैठक डाकिएको हो।
निर्वाचन आयोगले राष्ट्रिय सभाको गठन नभई प्रतिनिधि सभामा दलहरुले पठाउनु पर्ने महिलाको संख्या तोक्न नसकिने बताउँदै आएको छ।
राष्ट्रिय सभाको गठनसम्बन्धी बनेको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ। अध्यादेशमा उल्लेख गरिएको एकल संक्रमणीय निर्वाचन प्रणालीबारे दलहरुले फरक धारणा राख्दै आएका छन्।
सरकारले सो अध्यादेश संविधानसम्मत भएको दाबी गरिरहको छ भने एमालेले अध्यादेश असंवैधानिक भएको जिकिर गरिरहेको छ।
राष्ट्रिय सभाबिना नै नयाँ सरकार गठनका विषयमा पनि दलहरुबीच विवाद छ।