सरकारले सत्ता हस्तान्तरणका लागि वैधानिक बाटोको खोजी भइरहेको स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी सरकार वैधानिक बाटोबाटै सत्ता हस्तान्तरण गर्न लागि परेको बताएका हुन्।
उनले प्रतिनिधिसभालाई पूर्णता दिएर छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न सरकारले राष्ट्रपति समक्ष राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश पेश गरिएको पनि स्पष्ट पारे। प्रवक्ता बस्नेतले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण नगरेका कारण नयाँ सरकार बनाउने बाटो अवरुद्ध हुन पुगेको तर्क गरे।
उनले प्रतिनिधि सभालाई पूर्णता दिई सरकार गठन प्रक्रिया अघि बढाउन पनि राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न ढिलाई गर्न नहुने पटक–पटक दोहोर्याए।
बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएसम्म वर्तमान सरकारले राजनीतिक नियुक्ति, सरुवा र बढुवा गरिरहने पनि स्पष्ट पारे। उनले नयाँ सरकार नबनेसम्म वर्तमान सरकार नियुक्ति, सरुवा र बढुवा लगायतको काम गर्न दृढ रहेको बताए। एमाले, माओवादी केन्द्रलगायतका दलहरूले सरकार काम चलाउ भएकाले नियुक्ति, सरुवा, बढुवालगायतका काम गर्न नमिल्ने तर्क गर्दै आएका छन् । तर सरकारका प्रवक्ता बस्नेतले भने नयाँ सरकार नबन्दासम्म सरकारले आफ्नो कामलाई सहज ढंगले अघि बढाउने बताए।
प्रवक्ता बस्नेतले सरकारले राजीनामा नदिएको अवस्थामा नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न हुँदैन भन्न नमिल्ने तर्क गरे।