निर्वाचन आयुक्त इला शर्माले राष्ट्रिय सभासम्बन्धी अध्यादेश जारी नहुँदा चुनावको मतपरिणाम सार्वजनिक गर्न समस्या परेको बताएकी छन्।
सेतोपाटीसँगको कुराकानीमा अायुक्त शर्माले राष्ट्रिय सभामा कुन दलका कति महिला आउँछन् भन्ने एकिन नभएकाले प्रतिनिधि सभाकाे समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न समस्या भएको बताइन्।
उनले समानुपातिक प्रतिनिधित्वको विधिमध्ये एकल संक्रमणीय निर्वाचन प्रणाली एउटा विधि रहेको बताइन्। ‘एकल संक्रमणीय असंवैधानिक भन्ने प्रचार भैराखेको छ’, शर्माले भनिन्, ‘समानुपातिकबाट प्रतिनिधित्व सुनिश्चित गर्ने विधिमा एउटा बन्द सूची हो अर्को भनेको एकल संक्रमणीय हो। एकल संक्रमणीय भनेको समानुपातिक नै हो।’
उनले राष्ट्रिय सभा सम्बन्धी कानून नहुँदा आयोगलाई काम गर्न अप्ठ्यारो परेको बताइन्। आयोगले पटक पटक राष्ट्रिय सभा कानून ल्याउन भनेको तर संसदबाट पनि नबनेको तथा अध्यादेशबाट नआउँदा समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न समस्या रहेको बताइन्।
‘राष्ट्रिय सभाको निर्वाचन भएर २२ जना बाहेकका महिला कति आउँछन् भन्ने टुङ्गो लागेपछि समानुपातिकबाट क्षतिपूर्ति गर भन्न हुन्थ्यो। त्योभन्दा बढी आए पनि ठिकै छ। तर, हामीले प्रतिनिधि सभामा यति महिला पठाउ त भन्न सक्न पर्यो नि’, शर्माले भनिन्, ‘संविधानको प्रावधानले त त्यही भनेको छ हामीलाई। त्योभन्दा बाहिर गएर व्यवहारिक कुरामा लाग्ने अवस्था छैन। आयोगले ऐन र संविधानभन्दा बाहिर गएर केही गर्दैन।'