राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा मधेसी गठबन्धनको सरकार बन्ने र केही समयपछि फोरमसँग पार्टी एकता हुने बताएका छन्।
मंगलबार सेतोपाटीसँग कुराकानी गर्दै महतोले मधेसका जनताले दुबै दललाई मिलेर जान आदेश दिएकाले फोरमसँगको गठबन्धन जारी रहने बताए।
‘मधेसी जनताको भावनाअनुसार नै गठबन्धन गरिएको हो, त्यसलाई जनताले अनुमोदन गरिसकेका छन्। अब गठबन्धनले नै सरकार बनाउँछ, बिस्तारै पार्टी एकता पनि हुन्छ,’ महतोले भने।
उनले निर्वाचनलाई पनि आफूहरुले आन्दोलनकै रुपमा लिएको र परिणाम अपेक्षाकृत भएको बताए।
‘जहाँजहाँ मधेस आन्दोलनमा जनता धेरै सहभागी भएका थिए, त्यहाँत्यहाँ नतिजा हाम्रो पक्षमा आएको छ,’ महतोले भने, ‘आन्दोलन कमजोर भएको ठाउँमा हारे पनि हामी सन्तुष्ट छौं।’
उनले एमाले र माओवादी गठबन्धनको सरकारमा सहभागी हुने विषयमा भने कुनै छलफल नभएको बताए। ‘उहाँहरु नै पर्याप्त हुनुहुन्छ, हामी चाहिएजस्तो लाग्दैन,’ महतोले भने, ‘सरकारमा आउनुस् भन्नुभयो भने पहिला हामी संविधान संशोधनको कुरा राख्छौं, त्यसलाई उहाँहरुले कसरी लिनुहुन्छ, धेरै कुरा त्यसैमा भर पर्छ।’
प्रदेश नम्बर २ का ६४ सिटमा फोरम र राजपाले २० र १५ सिट जितेका छन्। समानुपातिकमा राजपा दोस्रो भएको छ भने फोरम तेस्रो स्थानमा छ।
प्रतिनिधि सभामा राजपा ११ सिट जितेको छ भने फोरम १० सिटमा विजयी भएको छ।
यो पनि पढनुस्