नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरू भैरहेकोले सहमतिमै सबै कुरा टुंगो लगाउने विश्वास दिलाएका छन्।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकता र सरकार गठनबारे दुवै पार्टीका शीर्ष नेताहरू बसेर छलफल अघि बढाइसकेको बताए। उनले थपे,‘हामी अहिले दुई वटा पार्टीहरूलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरू गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने संभावना बढी छ, हामी बैठकहरू बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटीलाई समायोजन गरेर जान्छौं।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै नेताहरूलाई आपसी मेलबाट अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिएर सन्तुलनमा राखेर अघि बढ्ने विश्वास दिलाए । उनले थपे,‘अहिले प्रधानमन्त्रीमा जसको नाम आएको छ, उहाँलाई बधाई तथा शुभकामना दिऔं, दुवै नेताहरूलाई सन्तुलनमा राखेर हामी अघि बढ्छौं।’
साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले सरकार निर्माणका प्रक्रिया पनि दुवै पार्टीका शीर्ष नेताहरू एक ठाउँमा बसेर तय गर्ने जानकारी दिए। उनले भने,‘जनताका इच्छा र आकांक्षा पूरा गर्नेगरि हामी अघि बढ्छौं । अबको एउटै उद्देश्य भनेको विकास र समृद्धि हो।’
राष्ट्रिय सभाको निर्वाचनको बारेमा आफूहरूले संविधान लेख्दा बहुमतका आधारमा नै गर्ने भन्नेबारे स्पष्ट रूपमा समझदारी भएको उल्लेख गर्दै रावलले भने,‘यसका साथसाथै हामीले स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि, कतिपय बैठकमा म आफैँ पनि सहभागी थिएँ, हामीले बारम्बार के भन्यौं भने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आइसकेपछि त्यो परिणामले हामीलाई प्रभावित गर्न सक्छ, हामी प्रभावित भएर यो प्रणालीमा समस्या आउन सक्छ, त्यसकारण अहिले निर्वाचनमा कसले कति मत ल्याउँछ? भनेर स्पष्ट नभएकै अवस्थामा यो कानून बनाइहालौं भनेर बारम्बार आग्रह गरेका थियौं, तर नेपाली कांग्रेस तयार भएन, मलाई आजकाल के लाग्छ भने नेपाली कांग्रेसका नेताहरूमा पहिल्यै नै यस पटकको निर्वाचनमा हारिन्छ कि के हो? भन्ने थियो जस्तो लाग्छ, नभए उहाँहरूले त्यतिबेला कानून ल्याउन किन मान्नुभएन ?’
नयाँ सरकार गठनको लागि प्रधानमन्त्री देउवाले मार्गप्रशस्त नगर्दा नेपाली कांग्रेस र स्वयम देउवाको पनि लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको निष्ठालाई कमजोर बनाउने काम भैरहेको उनको गुनासो थियो । रावलले थपे,‘जहाँसम्म राष्ट्रिय सभासम्बन्धीको अध्यादेशको कुरा छ, यो निर्वाचनको बारेमा संविधानको कुनै धारामा पनि एकल संक्रमणीय व्यवस्था छ भनेर लेखिएको छैन, त्यहाँ त बरु निर्वाचन हुने कुरामात्रै लेखिएको छ, त्यो निर्वाचन गर्दा बहुमतको आधारमा गर्ने भनेर संविधान लेखनको बखतमा सहमति भएको कुरा हो नि।’
अध्यादेशबारे हतार नगरिकन राष्ट्रपतिले स्पष्टता खोज्नु र स्वीकृत नगर्नु स्वभाविक भएको उनको दाबी थियो। उनले थपे,‘प्रधानमन्त्रीले भन्यो भन्दैमा हुन्छ र ? प्रधानमन्त्रीले राष्ट्रपतिलाई यसरी विवादमा तानेर आफ्नो पराजयको पीडा जति अर्काको टाउकोमा हाल्नु उचित कुरा होइन।’
निर्वाचनको परायजबाट हतास भएर संविधानमा नै नलेखेको कुरा जबरजस्ती यही हो भनेर भन्नु गलत भएको भन्दै त्यसो नगर्न कांग्रेसलाई उनले आग्रह समेत गरे। नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गरेर मुलुकलाई समृद्धिको यात्रामा तीव्र गतिमा अघि बढाउने नेपाली जनताको भावनालाई कदर गर्नपनि उनले कांग्रेसलाई आग्रह गरे । उनले थपे,‘हाम्रो तर्फबाट हामी स्पष्ट छौं, हामी त अल्पमतलाई विश्वासमा लिएर अघि बढ्छौं।’
राष्ट्रिय सभामा महिलाहरूको प्रतिनिधित्व ३३ प्रतिशत हुने हो कि होइन? भनेर हामीले हेरेको भनेर कांग्रेसले तर्क गर्नुपनि गलत भएको उनको आरोप थियो । उनले थपे,‘राष्ट्रिय सभामा महिला, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, दलित लगायतको प्रतिनिधित्व के हुने ? कसरी हुने भन्ने कुरा स्पष्ट छ, सबै राजनीतिक दलहरूले तदअनुरुप उम्मेद्धवारी दिनुपर्छ, त्यसरी मोटामोटी अहिले हिसाब हेर्ने हो भने महिलाहरूको उपस्थिति ३७ प्रतिशत हुन्छ।’ उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको ३३ प्रतिशत छुट्टाछुट्टै कुरा भएको समेत स्पष्ट पारे।