सशस्त्र युद्ध विसाएर निर्वाचनमा होमिएको नेकपा माओवदी पहिलो संविधानसभाको सबै भन्दा ठूलो पार्टी बनेको थियो। कांग्रेस र एमालेका कतिपय किल्लाहरुमा उसले 'क्लिनस्वीप' नै गरेको थियो।
१२ वर्ष जनयुद्ध गरेर आएको माओवादी केन्द्र त्यससपछिका चुनावमा भने निरन्तर पछि पर्दै गएको छ।
२०६४ सालको पहिलो संविधानसभामा यो पार्टीले समानुपातिकतर्फ २९ दशमलव ८५ प्रतिशत ल्याएको थियो। अर्थात समानुपातिक तर्फ माओवादीले ३१ लाख ४४ हजार २ सय ४ मत पाएको थियो। समानुपातिक तर्फ आएको मतका आधारमा उसले १ सय सिट पाएको थियो। त्योबेला प्रत्यक्ष र समानुपातिक दुवैतर्फ माओवादीकै मत ज्यादा आएको थियो। प्रत्यक्षमा उसले १ सय २० सिट जितेको यो जम्मा मतको ३० दशमलव ५२ प्रतिशत हो।
पाँचवर्षमै यो पार्टीको मत आधा भन्दा बढी घट्यो।
दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टीबाट एकैचोटी तेस्रोमा झरेको थियो। त्यो बेला उसले समानुपातिक तर्फ १४ लाख २९ हजार ७ सय २६ मत पायो। यो झण्डै १७ प्रतिशत हो। समानुपातिक मतका आधारमा उसले ५४ मत पायो। प्रत्यक्षमा उसले २६ सिट जितेको थियो।
संविधान बनाउन नसकेर पहिलो संविधानसभा विघटन भएको थियो। संविधानसभा विघटन हुँदा माओवादी नै सरकारमा थियो। त्यसपछी माओवादी पार्टी विभाजन गरेर उपाध्यक्ष समेत रहेका मोहनवैद्यले अर्को पार्टी बनाए। दोस्रो संविधानसभामा प्रचण्ड नेतृत्वको एमाओवादीले भाग लिएको थियो। आधा भन्दा बढी प्रभावशाली नेताहरु रहेको अर्क माओवादीले दोस्रो संविधानसभा बहिस्कार गर्यो।
६४ साल देखि ७० सालसम्म आउँदा माओवादी मत घट्नुको मूलकारण पनि पार्टी विभाजन नै भएको माओवादी नेतृ पम्फा भुसालले बताइन्।
दोस्रो संविधानसभा निर्वाचन सकिएको चार वर्ष भयो। संविधान जारी पछी भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा यो पार्टी तेस्रो स्थानमै छ। तर उसको मत घटेर १३ लाखमा झर्यो।
केही समय अघि सकिएको स्थानीय तह निर्वाचनमा माओवादीलाई १८ लाख मत आएको थियो।
भर्खरै सकिएको प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएको छ। समानुपातिक तर्फ माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ। यो १३ दशमलव ६३ प्रतिशत हो। एमालेसंग तालमेल गरेकाले प्रत्यक्ष तर्फ माओवादीले ३६ सिट जितेको छ।
एमालेसंग तालमेल गरेकोले प्रत्यक्षमा बढी सिट जिते पनि समानुपातिकमा माओवादीको मत घटेको भुसालले बताइन्।
'२०७० सालमा पार्टी विभाजनका कारणम मत घटेको थियो यसपाली भने माओवादीले ४० प्रतिशत उम्मेदवार उठायो। उम्मेदवार नै नउठाएका ठाउँमा समानुपातिक मत पनि घट्छ। त्यसैले कम भएको हो,' उनले भनिन्।
निरन्तर आफ्नो मत घटाउँदै लगेको माओवादीले सबभन्दा ठूलो दल एमालेसंग पार्टी एकता गर्ने घोषणा गरिसकेको छ।