नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै गरिबीमुक्त राष्ट्र बनाउने घोषणा गरेका छन्।
अध्यक्ष ओलीले उत्पादनशील क्षेत्रमा लगानी बढाएर मुलुकबाट छिट्टै गरिबी हटाउने बताएका हुन्। वामपन्थी गठबन्धनले स्पष्ट बहुमत ल्याएसँगै सरकारको नेतृत्व लिने तयारीमा रहेका उनले आफ्नै निवास बालकोट पुगेका नेपाल उद्योग परिसंघको नेतृत्वसँग मुलुकबाट गरिबी हटाउन आफूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उच्च प्राथमिकता दिने योजना सुनाए।
ओलीले अहिले विश्वनै उत्पादन बढाएर गरिबी हटाउने अभियानमा लागिरहेको स्मरण गराउँदै नेपालले पनि सोही बाटोबाट अघि बढनुपर्ने बताए। उनले लगानी वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने बाटोमा नेपाल अब अघि बढ्ने स्पष्ट पारे। अध्यक्ष ओलीले निर्यात व्यापार प्रवर्द्धन, रोजगारीको अवसर थप सृजना गर्न र मुलुकबाट गरिबी हटाउन लगानी बढाउन जोड दिने पनि उल्लेख गरे। उनले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिक गर्न लागि पर्ने पनि दोहोर्याए।
उनले अब बन्ने सरकार देश र जनताप्रति उत्तरदायी हुने बताए। उनले मुलुकलाई आधुनिक र सभ्य बनाउँदै जनताको जीउ/धनको सुरक्षा गर्ने, सबैलाई न्याय र अवसर प्रदान गर्ने र भयरहित समाज निर्माणमा जुट्ने बताए। त्यस अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकलाई समृद्ध बनाउने अध्यक्ष ओलीको सपना पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले मुलुकलाई समृद्ध बनाउने उपयुक्त वातावरण बन्न गएकाले त्यसलाई अवसरको रुपमा लिएर नयाँ सरकारले काम गर्ने विश्वास पनि व्यक्त गरे। अध्यक्ष शर्माले ओलीलाई मुलुकलाई समृद्ध बनाउन ‘मिसन’ र ‘भिजन’ भएको नेताको रुपमा पनि चित्रण गरेका थिए।