निर्वाचन आयोगले हालसम्म समानुपातिकतर्फ १ सय ३६ निर्वाचन क्षेत्रको मात्र मतपरिणाम प्राप्त भएको जानकारी दिएको छ।
आयोगका सचिव वेगेन्द्र शर्मा पौडेलले निर्वाचन एपमा निर्वाचन अधिकृतको कार्यालयहरूबाट मतपरिणाम अपडेट भएपनि आयोगमा आधिकारिक रूपमा जम्मा भइनसकेको बताए। ‘२९ क्षेत्रको मतपरिणाम आउन बाँकी छ’, पौडेलले भने, ‘हामीले मुख्य निर्वाचन अधिकृतहरूलाई ताकेता गरिरहेका छौँ। उहाँहरूले हस्ताक्षर गरेर त्यसको कपि फ्याक्स गर्न सक्ने व्यवस्था मिलाएका छौँ।’
पौडेलले समानुपातिकको सिट बाँडफाँट अघि तथ्यांक प्रशोधनमा नै अझै केही समय लाग्ने बताए। प्रदेश सभा तर्फका ५३ दल र प्रतिनिधि सभा तर्फ ४९ दलले निर्वाचनमा भाग लिएका थिए। सबै दलको मत छुट्टाछुट्टै जोड्नुपर्ने र थ्रेसहोल्ड अनुसार सात प्रदेश र प्रतिनिधि सभाको हिसाब गर्न केही समय लाग्ने पौडेलले सेतोपाटीलाई बताए।