दाङमा ६१ उम्मेदवारको चार लाख धरौटी जफत भएको छ। मंसिर २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभा तर्फका २४ र प्रदेशसभा तर्फका ३८ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।
खसेको कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था निर्वाचन आयोगले गरेको थियो। तर, यस जिल्लामा प्रतिस्पर्धा गरेका ८१ जना उम्मेदवारमध्ये ६२ जना उम्मेदवारले १० प्रतिशत मतपनि प्राप्त गर्न सकेनन्। त्यसैले त्यस्ता उम्मेदवारको धरौटी जफत भएको कार्यालयले जानकारी दिएको छ।
प्रतिनिधिसभा तर्फ दाङको निर्वाचन क्षेत्र नं. १ मा नौं जना, क्षेत्र नं. २ मा सात जना र क्षेत्र नं. ३ मा आठ जनाको धरौटी जफत भएको छ। त्यसैगरी प्रदेशसभा तर्फ तीन निर्वाचन क्षेत्रबाट दाङमा ३८ जना उम्मेदवारको धरौटी जफत भएको जानकारी दिइएको छ।
दाङमा प्रतिनिधिसभा निर्वाचन आयोगले निर्धारण गरे बमोजिम मत ल्याउन नसक्ने २४ जनाबाट २ लाख २५ हजार धरौटी जफत भएको छ। त्यस्तै, प्रदेशसभातर्फ ३८ जनाबाट एक लाख ७२ हजार पाँच सय रुपैयाँ जफत भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ। धरौटी जफत हुने दलहरूमा राष्ट्रिय जनमोर्चा, नेकपा माले, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाली कांग्रेस बीपी, मंगोलियन नेशनल अर्गनाईजेशन जस्ता पार्टीका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारहरू रहेका छन्। दाङ तीन ठूला राजनीतिक दलहरूले मात्रै आफ्नो धरौटी बचाउन सकेका छन्।