शनिबार र बिदाका पनि सरकारी कार्यालय खुल्छ भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ। तर, झापाको शिवसताक्षी नगरपालिका कार्यालय शनिबार पनि खोलेर कर्मचारीले सेवाग्राहीको काम गरिरहेका छन्।
नगरपालिकाका ईन्जिनियर महेश भण्डारी, कार्यक्रम अधिकृत महेश लामिछाने र जिन्सी स्टोर प्रमुख दीपक तामाङ शनिबार पनि कार्यलयमा नियमित काम गरिरहेका थिए। कार्यक्रम अधिकृत लामिछानेका अनुसार ईन्जिनियर भण्डारी बिहान साढे नौ बजे कार्यलयमा काम गर्न आएका हुन भने स्टोर प्रमुख तामाङ र आफू बिहान साढे ६ बजेनै आएको जानकारी दिए।
ईन्जिनियर भण्डारीको फाँटमा जाँदा उनी योजनाका काम गरिरहेका थिए। अघिल्लो दिन मात्र वडा नम्बर २ को २५ वटा योजनाको निरीक्षण गरेर फर्किएका भण्डारीलाई घर पुग्न राति साढे सात बजेको थियो। उनले भने, ‘शुक्रबारै ती योजनाको स्टीमेट, डिजाईन गर्न समय नपुगेकाले शनिबार कार्यलयमा ती योजनाको काम गरेको हो। उनले भने, ‘वडाकै काम गर्न भ्याई नभ्याई छ नगरको त छोएकै छैन।’
शिवसताक्षी नगरका ईन्जिनियरले योजना छनोट, योजना तयार, योजनाको डिजाईन स्टीमेट, अनुगमन लगायतका काम गर्नुपर्छ। नगरमा साहायक ईन्जिनियर नहुँदा कामको चाप बढेको भण्डारीले बताए।
विधागत कर्मचारीको जनशक्ति अभाव कै कारण शिवसताक्षी नगरका कर्मचारीले बिदाको अनुभव गर्न पाएका छैनन्।
महेश लामिछाने शिवसताक्षी नगरको कार्यक्रम अधिकृत हुन्। उनको फाँटमा पुग्दा उनि निकै व्यस्त देखिन्थे। नगर सभाका कतिपय बुँदालाई उनी धमाधम स्क्यानिङ गरिरहेका थिए। नगरसभाका निर्णयलाई स्क्यानिङ गरेर कम्प्युटरमा फाईलिङ गर्दे थिए।
सामाजिक सुरक्षाको कार्यक्रमले पनि उनलाई निकै थिचेको छ। कार्यालय खुल्ला हुने दिन र कार्यालय समयमा नभ्याईएका काम बिहान, बेलुका र बिदाको दिन गर्ने गरेको उनले बताए। उनलाई कार्यलयको कामले छोडेको छैन।
शिवसताक्षी नगरपालिकाका अर्का कर्मचारी दीपक तामाङ शनिबार बिहान ११ वजे कार्यकक्षमै भेटिए। उनी नगरका स्टोर प्रमुख हुन्। अन्य दिन नगरका वडा कार्यलयको काम गर्दे ठिक्क हुन्छ। कामको चाप बढेपछि शनिबार पनि जनताको सेवा गर्न कार्यलय आएको उनले बताए।
नगरपालिकामा कार्यकारी अधिकृत पंकज भूर्तेल पनि विदाको दिन कार्यलयको काम गर्न आउँछन्। उनी मात्र होईन लेखा अधिकृत भीम खवास पनि विदाको दिन कार्यालय आउने गरेका छन्। बिहान ७ वजे दिनहुँ कार्यालय जाने ईन्जिनियर भण्डारी, कार्यक्रम अधिकृत लामिछाने र स्टोर प्रमुख तामाङनै हुन्।
कार्यालयमा अतिरित्त समय काम गरेवापत उनीहरुले पारिश्रमिक पाउँदैनन्। नास्ता र खाना खर्च पनि आफैं व्यहोर्छन्।
सरकारी कार्यालयमा कार्यरत कतिपय कर्मचारी कार्यालय नजाने, काम ठग्ने र तलव भत्ता मात्र लिने गरेको त सुने जानेकै हो। तर, शिवसताक्षी नगरका यी कर्मचारी सरकारले दिएको बिदाको दिनमा पनि कार्यालयको काम गर्छन् भन्ने कुरा धेरैले सुनेका थिएनन्।
शिवसताक्षी नगरपालिका कार्यालयका कर्मचारीबाट जिल्लाका अन्य सरकारी तथा गैह्र सरकारी कार्यलयका कर्मचारीले पाठ सिक्नुपर्ने शिवसताक्षीका सामाजिक अगुवा रतन आचार्यले बताए। ‘सेवाग्राहीको काम प्रतिको चिन्ता यी कर्मचारीमा देखियो,’ उनले भने।