नेपाली कांग्रेसका युवा नेता एवम् नव निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता बानियाँले जनताको चाहना, आवश्यकता र पूर्वाधारको आधारमा हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरेका हुन्।
क्षेत्रीय वन कार्यालय, प्रदेश सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने कार्यालय, पितनापतिको प्रदेश कार्यालय सबै हेटौंडामा भएको बताउँदै भने,‘प्रदेशको राजधानी मुलुकको राजधानी काठमाडौं वरपर बनाउनुपर्छ, मुलुकको राजधानीमा प्रदेशको राजधानीलाई थुपार्नु हुँदैन, यहाँ धेरै प्रकारका अहसजता छन्, सवारीको चाप उस्तै छ, यस्तो स्थितिमा प्रदेश नम्बर ३ को राजधानी हेटौंडा उपयुक्त छ।’
हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउनेबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा गरिसकेकोले देउवाले उपर्युक्त निर्णय लिने उनको विश्वास थियो।
चुनावको बेलामा नाराको साहरालाई लिएर प्रदेशको राजधानी अन्यत्र बनाउने भनेर गरिएका कुराहरू आधारहिन भएको भन्दै नेता बानियाँले हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउनको लागि सबै दलहरूसँग छलफल भइरहेको समेत जानकारी दिए।
कांग्रेसले चुनावमा लज्जास्पद हार व्यहोर्नुको कारण कांग्रेसले पत्ता लगायो त भनेर गरिएको पत्रकारको प्रश्नको जवाफमा नेता बानियाँले भने,‘कांग्रेसले हारेको छैन, स्थानीय तहको निर्वाचनमा पहिलो र तेस्रो दल एक भएर चुनाव लड्दा खेरी कांग्रेसको स्थिति यही हुने थियो, तथापी समानुपातिकमा हेर्नुस् हामी दोस्रो स्थानमा छौँ, काँग्रेसले हारेको छैन।’
उनले अघि थपे,‘कसैले कांग्रेस कमजोर भयो भन्छ भने त्यो भ्रम हो, काँग्रेस लोकतन्त्रको निम्ति जीवित छ, यहाँ कसैले कांग्रेस सकियो, रुख ढल्यो जस्ता कुराहरू चलाइरहेका छन् त्यो पूर्ण रूपमा गलत छ।’
नेता बानियाँले आफूले यसअघि नै गृहराज्यमन्त्री, पर्यटन मन्त्रालय लगायतको जिम्मेवारी वहन गरिसकेको अनुभव स्मरण गराउँदै भने,‘प्रदेश नम्बर ३ को प्रतिपक्ष दलको मुख्य नेताको लागि कांग्रेसले मलाई नै छान्छ होला।’