दाङमा कुल साढे ८१ हजार बढी मत बदर भएको पाइएको छ । प्रत्यक्ष र समानुपातिकको बदर मतको योगफल ८१ हजार ७ सय ६५ पुगेको तथ्य सार्वजनिक भएको छ ।
प्रत्यक्ष तर्फको प्रतिनिधि र प्रदेशसभामा २५ हजार ६ सय ८५ र समानुपातिक तर्फ ५६ हजार ७१ गरि कुल ८१ हजार ७ सय ५६ मत बदर भएको जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले बताए । दाङमा कुल २ लाख २९ हजार २ सय ८७ मत खसेको र त्यसमध्य साढे ८१ हजार बढी मत बदर भएको कार्कीले जानकारी दिए ।
उनले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ २ लाख १५ हजार ५ सय ७१ मत सदर र १३ हजार ७ सय १६ मत बदर भएको बताए । त्यस्तै प्रदेससभा तर्फ २ लाख १७ हजार ३ सय ११ मत सदर र ११ हजार ९ सय ६९ मत बदर भएको उनले जानकारी दिए ।
त्यसैगरी समानुपातिकको प्रतिनिधीसभा तर्फ २ लाख २९ हजार ४ सय ५२ मत खसेकोमा २१ हजार ९ सय ९८ मत बदर भएको छ भने समानुपातिककै प्रदेससभा सदस्य तर्फ ३४ हजार ७३ मत बदर भएको कार्कीले सेतोपाटीलाई बताए । ७५ प्रतिशत मत एक भन्दा धेरै चुनाव चिन्हमा संकेत गरेको हुँदा बदर भएको जानकारी दिइएको छ । धेरै चुनाव चिन्हमा छाप लगाएको, औठा छाप लगाएको, फरक फरक मतपेटीमा मतपत्र खसाएको र केहीमा ‘नो भोट’ भनेर लेखिएको समेत फेला परेको जानकारी दिइएको छ । दाङमा यतिधेरै मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नबन्नुलाई नै मान्ने गरिएको छ ।