खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्वीकार्न आफूहरू तयार रहेको स्पष्ट पारेका छन्।
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरू सबै गुम्नसक्ने आरोप लगाए।
उनले थपे,‘निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ, यो अग्रगमनको बाटो अब अघि बढिसक्यो, अब पछि हट्ने कुनै संभावना छैन, उत्ताउलो भएर केही चल्दैन, परिवर्तनका एजेण्डाहरूलाई संस्थागत रूपमा कार्यान्वयन गर्न पनि माओवादी केन्द्रले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ, उहाँहरूकै कारणले संघीयता, गणतन्त्र, समावेशीजस्ता परिवर्तनका मुद्दाहरू स्थापित भएका छन्, माओवादी एमालेको पछि लाग्नु हुँदैन, किनकी एमाले त यी सबै उपलब्धिहरू गुमाउने तरखरमा छ।’
मन्त्री यादवले एमालेले उपलब्धिलाई गुमाउन सक्ने आरोप लगाउँदै त्यसबाट बचाउनको लागि पनि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउनुपर्ने धारणा राखे । ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरू संस्थागत हुन्छन्, उहाँबाट मात्रै यी उपलब्धिहरू रक्षा हुन सक्छन्, उहाँ आफैँ प्रधानमन्त्रीको रूपमा अघि बढ्नुपर्छ, हाम्रो पूर्ण समर्थन रहन्छ।’
उनले एमाले अध्यक्ष ओलीलाई भड्काउ नेताको रुपमा चित्रण समेत गरे । यादवले थपे,‘ओलीजी अतिवादी कुरा गर्ने नेता हो, उहाँ दुई वटा कुरा गर्नुहुन्छ, देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो, उहाँलेमात्रै सबैलाई मिलाएर लैजान सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो।’
युवा नेता गगन थापाप्रति लक्षित गर्दै यादवले भने,‘युवा भनाउँदा कुनै पनि नेताहरूले भनेजस्तो अहिले नेतृत्व परिवर्तन हुँदैन, यो उनीहरूको व्यक्तिगत विचार हो, पार्टीमा अहिले देउवाको विकल्प नै छैन, म दावाका साथ भन्छु, अर्को महाधिवेशन नहुँदासम्म देउवाजी नै सभापति हो, गगन थापाले एक्लै हटाउने हो र ? गगन थापामात्रै युवा होइन, म पनि त युवा नै हो नि।’
अहिलेको चुनावमा कुनैपनि दलको स्पष्ट बहुमत नआएको उल्लेख गर्दै यादवले भने,‘कुनैपनि दलको स्पष्ट बहुमत आएको छैन, एमालेको बहुमत आयो भनेर हल्ला फैलाइएको छ, वाम गठबन्धनको वा कम्युनिष्टहरूको दुई तिहाई आएको भनिएको छ, समानुपातिक मतपरिणामको रुझान हेर्दा कांग्रेस नै दोस्रो ठूलो दल बन्छ।’
यादवले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बनेको वाम गठबन्धन धेरै लामो समयसम्म नटिक्ने समेत दाबी गरे। उनले थपे,‘अहिले नै हेर्नुभयो भने थाहा हुन्छ, अब बन्ने प्रधानमन्त्री केपी ओली कि प्रचण्ड भन्ने विवाद छ, त्यसैले उहाँहरूको गठबन्धन धेरै लामो जाँदैन।’
मन्त्री यादवले एक/दुई दिनभित्रै गभर्नर र प्रदेश प्रमुख तोक्ने समेत जानकारी दिए । उनले भने,‘यो सरकारले अन्तिम दिनसम्म पनि काम गर्छ, निर्णयहरू गर्छ, यहाँ कसैले केही भन्दैमा र विरोध गर्दैमा काम रोकिँदैन्, हामीले गरेका निर्णयहरू कसैलाई मन परेन भने भोलि आउने सरकारले उल्टाउन सक्छ नि, उल्टाए भैगयो नि।’ उनले सरकार संविधान अनुसार नै नयाँ प्रधानमन्त्री बनेपछि ह्याण्डओभर हुने भन्दै कसैलाई पनि चिन्ता नलिन आग्रह गरे ।